मलावरदेवी माध्यमिक बिद्यालयको १२ कोठे नयाँ भवन उद्घाटन

रुपन्देही खबर , ४०  पटक हेरिएको

कञ्चन, भदौ २८

रुपन्देही कञ्चन ३ मा रहेको मलावरदेवी माध्यमिक बिद्यालयको १२ कोठे नयाँ भवनको उद्घाटन गरिएको छ । बिहिवार लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले १२ कोठे नयाँ भवनको उद्घाटन गर्नु भएको हो । गोर्खा वेलफेयर ट्रस्टको अनुदान तथा बिद्यालयको आन्तरिक श्रोतबाट निर्माण सम्पन्न भएको उक्त भवन निर्माणको शुभारम्भ मन्त्री ढकालले नै २०७५ सालमा शिलन्यास गर्नु भएको थियो।

नयाँ भवनको उद्घाटन गर्दै मन्त्री ढकालले शिक्षा बिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । शिक्षाले मात्र समाजलाई बौद्धिकता तर्फ ढकेल्ने र बौद्धिक वर्गले मात्र आदर्श समाजको परिकल्पना गर्न सक्ने भएकोले हरेक क्षेत्र समुदायलाई शिक्षाको ज्योतिबाट नजिक बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले बिद्यालयको भौतिक पुर्वाधार बिकास अन्तर्गत बिभिन्न योजनाहरु निर्माण गरिरहेको र त्यसैको मुख्य योजना मलावरदेवी माध्यमिक बिद्यालयमा गोर्खा वेलफेयर ट्रस्टमा १२ कोठे भवन निर्माणका लागि सहयोग प्राप्त भएको मन्त्री ढकालले बताउनु भयो ।

यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अवको शिक्षा ब्यबसायिक र बिश्व बजारमा बिक्ने सिपयुक्त शिक्षाको बिकास गर्नुको बिकल्प नभएको बताउनु भएको छ । बिदेशमा उच्च शिक्षा पढ्न जाने क्रमलाई रोक्न नसकिने भएपनि माध्यमिक तहको शिक्षा पढ्दै गर्दा बिद्यार्थीहरुले सिपमा आधारित शिक्षा ग्रहण पाएको अवस्थामा जुनसुकै बहानामा युवाहरु बिदेशिएता पनि उनिहरुले दुःख नपाउन भन्ने उद्धेश्यले शिक्षालाई व्यबसायिक र सिपयुक्त बनाउनु पर्ने अध्यक्ष ढकालले बताउनु भयो। विगतका शैक्षिक सत्रहरुमा भन्दा यस बर्षको कञ्चनको शैक्षिक स्तरमा बृद्धि भएको उल्लेख गर्दै अध्यक्ष ढकालले फरक प्रसंगमा भदौ मसान्तभित्र राष्ट्रिय भूमि आयोगको पुनः गठन भएमा सबैभन्दा पहिले वडा नं. ५ मा लालपुर्जा वितरण गरिने बताउनु भयो।

बिद्यालयको कम्प्युटर ल्याव भवन निर्माणार्थ आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, वडा नम्बर ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, कार्यपािलका सदस्य तथा प्रवक्ता चित्र तुलाचन, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, शिक्षा अधिकृत रमेश भूसाल, हरैया बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष टीकाराम गिरी लगायतले बिद्यालयको शैक्षिक गुणस्तरमा ध्यान नदिएसम्म भौतिक पुर्वाधारको सौन्दर्यता बढाएर मात्र बिद्यालय शिक्षामा सुधार नहुने बताउनु भएको थियो। बिद्यालयको शैक्षिक स्तर बृद्धि गर्न शिक्षक, बिद्यार्थी र अभिभावकहरुको चासो बढाउने शैक्षिक योजना निर्माण गर्नु अनिवार्य रहेको वक्ताहरुले जोड दिनु भएको थियो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भुवन कुमार गौतमले बिद्यालयको शैक्षिक स्तर बृद्धि गर्न आफु र बिद्यालयका शिक्षक कर्मचारीहरु एकबद्ध भएर शैक्षिक योजनाका साथ अगाडी बढीरहेको बताउनु भएको थियो। शिक्षक बिदुर शर्माको संचालनमा भएको कार्यक्रममा बिद्यार्थीहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०९-१३ , समय : ०८:३४:०९ , १ महिना अगाडि