रुपन्देही खबर , ८४ पटक हेरिएको
काठमाडौं, भदौ २७
एमालेनिकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
आज साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी भइरहेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि आफूहरूले प्रतिवाद गरेको चौतारीका उपाध्यक्ष राजेश राईले बताउनु भएको छ ।
‘प्रेस काउन्सिलले हेर्नुपर्ने विषयमा सीधै प्रहरीले पक्राउ गर्न मिल्दैन भनेर प्रतिकार गर्यौं’, उहाले भन्नु भयो । बस्नेतले सञ्चालन गर्ने जनता टाइम्स अनलाइनमा साउन महिनामा प्रकाशित एक समाचार र तस्विरलाई लिएर उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।
प्रकाशित मिति: २०२४-०९-१२ , समय : १७:५०:२६ , २ महिना अगाडि