भलाईकोष र इ ड्राइभ तथा बुटवल टेक्सी सेवा प्रालिबिच सम्झौता

रुपन्देही खबर , ४२  पटक हेरिएको

बुटवल, भदौ २६

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र इ ड्राइभ लुम्बिनी तथा बुटवल टेक्सी सेवा प्रालिबिच सम्झौता भएको छ ।
इ ड्राइभ नेपाल र बुटवल टेक्सी सेवा प्रालिमा आवद्ध गाडीलाई कोषमा आवद्ध गराउने विषयमा सम्झौता भएको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनु भएको छ ।

सम्झौतामा आफ्नो संस्थामा आबद्ध व्यवसायीका साधनहरु कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने उल्लेख छ । सम्झौतामा २०८१ कार्तिक ३० सम्म कोषले आबद्धता निःशुल्क गरिदिने उल्लेख छ ।

त्यसै गरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपैयाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको कोषका महासचिव योग गुरुङले जानकारी दिनु भएको छ । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले गर्ने गरी सम्झौता भएको इ ड्राइभ नेपालका प्रवन्ध निर्देशक राजकुमार गुप्ताले जानकारी दिनु भएको छ ।

आफ्नो गाडीको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने गरी सम्झौता गरिएको बुटवल टेक्सी सेवा प्रालिका विजय कुँवरले बताउनु भएको छ ।

त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा दुई जनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ ।

प्रकाशित मिति: २०२४-०९-११ , समय : ०७:५२:४९ , १ महिना अगाडि