मानव बेचबिखन अनुसन्धान ब्युरोमा ६ सय ४ वटा मुद्धा दर्ता

उर्मिला यादव यात्री , ५३  पटक हेरिएको

भैरहवा, भदौ २१

मानव बेचबिखन अनुसन्धान ब्युरोमा आर्थिक बर्ष २०७७।७८ देखी २०८०।८१ गरी ४ आर्थिक बर्षमा ६०४ वटा मानव बेचबिखन सम्बन्धी मुद्धा दर्ता भएको पाइएको छ । जसमा ८४१ जना ब्यक्तिहरु मानव बेचबिखनबाट पिडित भएका छन । जसमा महिला ७८१ र पुरुष ५२ जना रहेका छन । जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीले मानव बेचबिखन बिरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा बिहीबार भैरहवामा आयोजना गरेको परिसंवाद कार्यक्रममा माइती नेपाल भैरहवा रुपन्देहीका प्रमुख माया क्षेत्रीले सोबारेमा जानकारी दिनु भएको छ । क्षेत्रीका अनुसार मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तथा अभियुक्तहरुको संख्या एक हजार २ सय ५७ रहेको छ जसमा ५६ जना महिला र ८७६ पुरुष रहेका छन । कार्यक्रमको सहजीकरण गर्दै माइती नेपाल भैरहवाकी प्रमुख क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आर्थिक बर्ष २०७८।७९ मा ५ वटा मानव बेचबिखनका मुद्धा दर्ता भएको बताउनु भएको छ भने आ.ब.२०७९।८० मा ७ र आ.ब. २०८०।८१ मा ५ वटा मुद्धा दर्ता भएको जानकारी दिनु भएको छ ।
यस्तै गरी माइती नेपाल रुपन्देहीले आ.ब २०८०।८१ मा ११ जनालाई भारतको बिभिन्न ठाउबाट उद्धार गरेको छ । बोर्डरबाट १७४ र ६०९१ जनालाई परार्मश गरिएको जनाएको छ । खोजतलासको निवेदन २१, घरेलु हिंसाको १० वटा निवेदन परेको जानकारी दिनु भएको छ ।

यस्तै गरी शान्ति पुनस्थार्पना गृह सिनपा १ बेलहिया रुपन्देहीले आर्थिक बर्ष २०७९।८० मा सीमाबाट ७० , भारतबाट २ जनालाई उद्धार गरेको छ भने मानव बेचबिखन तथा ओसारपसार १ र जबरजस्ती करणी १ गरी २ वटा मुद्धा समेत दर्ता गराएको छ । यस्तै गरी गृहले आ.ब. २०८०।८१ मा सीमानाकाबाट २७०, र भारतबाट ३ जनालाई उद्धार गरेको छ जसमा २ वटा मुद्धाहरु समेत दर्ता गरिएको छ ।

यस्तै आफन्त नेपालले सिमानाकाबाट १७२जनालाई उद्धार गरेको छ भने ४ वटा मानव बेचबिखन सम्बन्धी मुद्धा दर्ता गरेको छ ।

मानव बेचबिखन तथा ओसार पसार समस्यामा १८ देखी २५ बर्ष उमेर समुहका बढी रहेको पाइएको छ । सामान्य लेखपढ तथा प्राथमिक शिक्षा मात्र हासिल गरेकाहरु बढी मात्रामा पाइएको क्षेत्रीले बताउनु भयो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मात्रै ८ वटा संघसंस्थाहरुले सिमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी काम गर्दै आएका छन ।

प्रकाशित मिति: २०२४-०९-०६ , समय : १४:१०:४८ , २ महिना अगाडि