उद्योग व्यापार संगठन रुपन्देहीले बनायो वार्षिक कार्ययोजना

रुपन्देही खबर , ४७  पटक हेरिएको

भैरहवा, भदौ १६

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को वार्षिक कार्ययोजना बैठक–२०८१ अर्घाखाँचीमा सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ स्थित नरपानीमा भएको बैठकले वार्षिक कार्ययोजना बनाएको छ ।

वार्षिक कार्ययोजनामा विभिन्न कार्यक्रम गर्ने उल्लेख गरिएको छ । कार्ययोजनामा उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, समग्र रुपन्देहीको विकास, राष्ट्रिय गौरव आयोजना, उद्योग, व्यापार, कृषि, सम्बन्धी छलफल तथा अन्तरक्रिया, सडक खाना महोत्सव, निजी क्षेत्रका समस्या समाधानका लागि सल्लाह–सुझाव पेश गर्ने, भैरहवा मण्डपका लागि आवश्यक जग्गा पहिचान गरी सरकारसँग पहल गर्ने, लेखा, नेतृत्व विकास तालिम, साँस्कृतिक कार्यक्रम, सरसफाई, दशैं, तिहार, छठपर्व तथा नेपाल सम्वतकोे अवसरमा शुभकामना आदानप्रदान गर्ने समावेश छ ।

त्यस्तै खेलकुद कार्यक्रम आयोजना, वृक्षरोपण तथा वृक्ष संरक्षण, युवाका लागि सीपमूलक तालिम, कर शिक्षा तालिम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र २०८२ सालको क्यालेण्डर प्रकाशन गर्ने उल्लेख छ ।
बैठकले संगठनको लुम्बिनी शाखालाई चेम्बर अफ कमर्श लुम्बिनी साँस्कृतिक नगरपालिकाको रुपमा दर्ता गरी सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ ।

‘वार्षिक कार्ययोजना बनाउन रुपन्देही जिल्ला बाहिर पुग्ने गरेका छौं, यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने हामीले विश्वास लिएका छौं, ’संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भन्नु भयो ।
बैठकले एक वर्षमा गरिने विभिन्न कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरेको संगठनका वाणिज्य उपाध्यक्ष राममिलन यादवले बताउनु भएको छ । गठन गरिएका उपसमितिमा उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा, महिला उद्यमी, युवा तथा सीप प्रवद्र्धन, राहत, दर्ता, नविकरण, सूचना तथा सञ्चार, स्वास्थ्य, सीमा तथा भन्सार, बजार अनुगमन लगायत रहेका छन् ।
बैठकमा संगठनका कोषाध्यक्ष सुरेन्द्र कुमार पाण्डेयले २०८१÷०८२ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । बैठकमा बोल्दै संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नु भएको छ ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउदै बैंक तथा वित्तीय संस्थाबाट उद्योगी व्यवसायी तथा सर्वसाधारण पीडित रहेको समेत जानकारी गराउनु भएको थियो ।
संगठनका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्रीले अझ दत्तचित्त भएर लाग्न आग्रह गर्नु भएको छ । सल्लाहकार प्रकाश श्रेष्ठले मेला–महोत्सवका लागि धेरै पहिलादेखि नै तयारी आवश्यक रहेको बताउनु भएको छ ।
सल्लाहकार भोपेन्द्र प्रसाद यादवले उद्योगी व्यवसायीले उद्योग व्यापार संगठनप्रति धेरै आशा–भरोसा राखेको बताउनु भएको छ ।
उद्योग व्यापार संगठन, रुपन्देही लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल), सल्लाहकार उपेन्द्र अधिकारी लगायतले आकस्मिक रक्तदान कार्यक्रमलाई जोड दिनुपर्ने बताउनु भएको छ । उद्योग व्यापार संगठन, रुपन्देहीका उद्योग उपाध्यक्ष मधुसुदन अर्यालको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बैठकमा गत वर्षको वार्षिक कार्ययोजनाको समीक्षा गरिएको संगठनका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले बताउनु भएको छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीलाई बैठकमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०९-०१ , समय : ११:४०:४९ , २ महिना अगाडि