पाल्पाको रानीमहल सडकखण्डमा भारतीय गाडी दुर्घटना हुदा चालकको मृत्यु

रुपन्देही खबर , ३६  पटक हेरिएको

बुटवल, भदौ १०

पाल्पाको रानीमहल सडकखण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन नगरपालिका-१ नारनडाँडा स्थित तानसेन रानीमहल सडक खण्डमा आइतबार राती पौने ११ बजेतिर उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहल तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागी मिसन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ। प्रहरीले उक्त दुर्घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: २०२४-०८-२६ , समय : १०:४३:३२ , २ महिना अगाडि