मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीको अध्यक्षमा सुनिल कुवँर

रुपन्देही खबर , ७३  पटक हेरिएको

बुटवल, भदौ १०

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देही जिल्ला कमिटिको छैठौ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बुटवलमा भएको अधिवेनशले सुनिल कुमार कुवँरको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको हो । एकेडेमीको उपाध्यक्षमा उत्तम श्रेष्ठ, सचिवमा राजु पौडेल, कोषाध्यक्षमा मेख बहादुर पुन र सह–सचिवमा देव बहादुर थापा घर्ती निर्वाचित हुनु भएको हो ।

एकेडेमीका संस्थापक अध्यक्ष ज्ञानदेव हटुवाल रहनु भएको थियो भने त्यसपछि लगातार ध्रुव आचार्य, नन्दु काउचा, कृष्ण देवकोटा, मणिरत्न भण्डारी हुँदै सुनिल कुमार कुवँरले छैठौ अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कुवँरले आफनो कार्यकालमा गर्ने कार्यक्रमबारे प्रकाश पार्दै यसमा सबैको साथ र सहयोग जरुरी रहने बताउनु भएको छ । एकेडेमीको गरिमा अझ उचो बनाउने गरी खेल गतिविधिमा जोड दिने उहाले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले रुपन्देहीको नेतृत्व केन्द्रसम्म महत्व राख्ने हुँदा पनि समावेशी कमिटी निर्माण गरिएको बताउनु भएको छ । खेल र खेलाडीको भावना बुझेको टीममा बस्दा विकासमा टेवा पुग्ने हुदा पनि यसमा जोड दिइएको उहाले बताउनु भयो ।

कार्यक्रममा एकेडेमीका केन्द्रिय सचिव डा. शक्ति बस्नेत, क्रिकेट विभाग प्रमुख शक्ति गौचन लगायतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा निर्वतमान अध्यक्ष मणिरत्न भण्डारीले खेलाडीलाई प्लेटफर्म दिने गरि वर्षभरि नै धेरै कार्यक्रम गर्न सफल भएको दावी गर्नु भएको छ । खेलकुद विकासको लागि खेलाडी तथा प्रशिक्षक सम्मान, प्लस टु छात्रछात्रा भलिबल तथा बुद्धिचाल प्रतियोगिता, यु-१४ लिटल स्टार क्रिकेट प्रतियोगिता, खेलाडी सम्मान तथा संरक्षण कार्यक्रमहरु गर्न सफल भएको भण्डारीले बताउनु भयो।

यसैबीच एकेडेमीलाई विभिन्न कार्यक्रम गर्न सहयोग गर्ने सहयोगदाता, खेलाडीहरुलाई अधिवेशनमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०८-२६ , समय : ०६:०८:१५ , २ महिना अगाडि