रुपन्देही खबर , ३८ पटक हेरिएको
बुटवल, भदौ ९
रुपन्देहीको बुटवलमा सूचनाको हक सम्बन्धि तालिम सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजना र यूएसएड तथा द एसिया फाउन्डेसनको सहयोगमा दुई दिने तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज, र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण दिनु भएको थियो । उहाले आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पार्दै राष्ट्रिय सूचना आयोगलाई अन्य निकाय आयोगको तुलनामा बढी शक्तिशाली रहेको बताउनु भएको छ ।
प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, सिद्धान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानूनी प्रावधान, र सूचना अधिकारीको जिम्मेवारी तथा काम कर्तब्य र अधिकार जस्ता विषयमा विस्तृत प्रशिक्षण दिनु भएको थियो । उहाले सूचना माग्ने तरिका, उजुरीको प्रक्रिया, र सूचनाबाट उत्पादन शक्तिको महत्व लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो । त्यसैगरी, प्रशिक्षक कर्ण बहादुर नेपालीले वकालत, सहकार्य, सशक्तिकरण, सूचनाको दुरुपयोग, जरिवाना, र कार्ययोजना लगायतका विषयमा जानकारी गराउनु भएको थियो भने प्रशिक्षक लुनिभा तुलाधरले सूचना मागको पूर्व कार्ययोजना, सशक्तिकरणका उपाय, व्यक्तिगत पहिचान खोज्ने तरिका र महत्वका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
चौधरीको अध्यक्षतामा समिति गठन
तालिम पश्चात सूचनाको हककालागि अभियानकर्ता रामबिकास चौधरीको अध्यक्षतामा रुपन्देहीमा ११ सदस्यीय जिल्ला कार्य समिति समेत गठन गरिएको छ । जसको उपाध्यक्ष संजय कुमार मिश्र, सचिवमा अग्निशक्ती यादव, सह(सचिवमा माया के.सी र कोषाध्यक्षमा बिजया खत्री रहनु भएको छ । यस्तै गरी सदस्यहरु सुनिता चुदाली, दामोदर पंगेनी, उर्मिला यादव, अस्मिना पाण्डे, फुलु सुनार र उषा के.सी. रहनु भएको छ भने सल्लाहकारमा महेन्द्र थापा रहनु भएको छ ।
प्रकाशित मिति: २०२४-०८-२५ , समय : २३:२०:४७ , ३ महिना अगाडि