सम्मरीमाई गाउँपालिकाकाे ११ औं गाउँसभा सम्पन्न

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता

रुपन्देही खबर , ३९९  पटक हेरिएको

सम्मरीमाई, असार ११

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा बजेट पारित गरेको छ । असार १० गतेभित्र आफ्नो नीति तथा बजेट सार्वजनिक गरिसक्नुपर्ने स्थानीय तहको प्रावधान अनुसार गाउपालिका उपाध्यक्ष प्रियंका सिंह शाहीले उक्त बजेट सार्वजनिक गर्नु भएको हो ।

स्थानिय गाउपालिका जनप्रतिनिधिहरूको सहभागितामा आफ्नै गाउँ सभाहलमा भएको एक सभाको आयोजना गरी ५५ करोड ७५ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको हो । सभालाई सम्बोधन गर्दै अध्यक्ष विनोद कुमार श्रीवास्तवले आर्थिक वर्ष ७९/८० को बजेटमार्फत गाउपालिका पाको सबै समस्याकाे हल आफुले प्राथमिकता क्रममा सक्दो समेट्ने प्रयास गरेको प्रस्ट पार्नु भएको छ । गाउपालिका ११ औं गाउँसभाको नीति तथा कार्यक्रम अन्तर्गत कृषि, स्वास्थ्य, खानेपानी तथा सरसफाइका साथै मातृभाषा, साहित्य,कला र संस्कृतिलाई बजेटमा आफूले प्राथमिकता दिएको अध्यक्ष श्रीवास्तवले बताउनु भएको छ ।

 

खेलकुद, बालबालिका, युवा, लैङ्गिक मैत्री बजेट गाउपालिकाले समावेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । बेटी बचाउ बेटी पढाउ अभियान मार्फत कक्षा १२ र स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई विशेष किसिमको प्रोत्साहनका कार्यक्रमहरु ल्याउने भएको छ ।

गाउपालिकाले शिक्षा क्षेत्रलाई विशेष महत्व दिँदै शिक्षामा सबैभन्दा बढी तीन करोड १९ लाख ६५ हजार ५० रुपैयाँ विनियोजित गरिएको छ भने स्वास्थ्यमा एक करोड ८७ लाख ५ हजार विनियोजित गरेको अध्यक्षले बताउनु भएको छ । त्यसैगरी कृषिमा अड्साठी लाख र महिला बिकासका लागि ७ लाख ५० हजार रुपैयाँ विनियोजित गरिएको छ ।

उक्त कार्यक्रममा सहकारीका तर्फबाट अशोक कुमार तिवारी र सुप्रसिद्ध भोजपुरी साहित्यकार शिवनन्दन जयसवालले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

 

कार्यक्रमको लक्ष्य उद्देश्य तथा महत्वको बारेमा प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीले स्पष्ट पार्दै आमन्त्रित जनप्रतिनिधि र उपस्थितिलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको संचालन गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०६-२५ , समय : ०९:३१:३४ , २ वर्ष अगाडि