लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाइ सांसदहरुको समर्थन

रुपन्देही खबर , ४५  पटक हेरिएको

भैरहवा, भदौ ५

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाउनु भएको छ । मंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा दुई तिहाइ सांसदहरूले मत दिएका हुन्।

आचार्य नेकपा (एमाले) संसदीय दल नेता पनि हुनुहुन्छ । उहा नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।

एमाले, कांग्रेस र पाँच वटा अरू दलहरूका सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वास मत दिएका हुन्। मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नाउपाका ४, जनमतका ३, लोसपाका ३, जनता समाजवादी पार्टीका २, जसपा नेपालका १ र स्वत्नत्र १ गरी ७० जना सांसदले मत दिएका हुन्।

मुख्यमन्त्री आचार्यले राखेको विश्वास मतसम्बन्धी प्रस्तावको विपक्षमा माओवादी केन्द्रका १०, नेकपा (एकीकृत समाजवादी) का १ गरी ११ जना उभिएका छन्। राप्रपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी चार जना सांसद पक्ष वा विपक्षमा नरही तटस्थ बसेका थिए। लुम्बिनीमा ८७ जना सांसद छन्।

प्रकाशित मिति: २०२४-०८-२१ , समय : १२:५४:१० , ३ महिना अगाडि