रुपन्देही खबर , ५८ पटक हेरिएको
काठमाण्डाै,साउन ३०
प्रनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएकाे ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई सभाले पारित भएको हो ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ। सरकारले २०७९ सालको फागुन २५ गते यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले विवादित विषयमा सहमति जुटाएका थिए । समितिले हिजो मात्रै प्रतिनिधि सभामा पेश गरेको विधेयक आजै पारित भएकाे हो ।
आज बसेको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेसँगै निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका छन् ।
प्रकाशित मिति: २०२४-०८-१४ , समय : २०:५८:५० , ४ महिना अगाडि