लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी

रुपन्देही खबर , ८३  पटक हेरिएको

भैरहवा, साउन १७

विभिन्न माग राख्दै लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरिएको छ । कोषको आम्दानीको ५० प्रतिशत स्थानीय तहलाई दिनुपर्ने, कोषमा नियुक्त गरिने पदाधिकारी स्थानीय हुनुपर्ने लगायत माग राख्दै लुम्बिनी विकास कोषमा तालाबन्दी भएको छ ।

लुम्बिनी बचाऊ संघर्ष समिति, रुपन्देहीको अगुवाइमा स्थानीयबासी समेतले कोषका कोषाध्यक्ष, सदस्य सचिव, पुरातत्व महाशाखा र संग्रहालयमा तालाबन्दी गरेको हो ।

संघर्ष समितिले पदाधिकारीसँगै कर्मचारी भर्ना गर्दा पनि स्थानीयलाई प्राथमिकता दिइनुपर्ने, संघीयताको मर्म अनुरुप लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख, प्रदेश सभा सदस्यलगायत संघीय सांसद् लुम्बिनी विकास कोषको पदेन सदस्य बनाउनुपर्ने माग गरेको छ ।

कोषका लागि जग्गा दिएर अधिग्रहणमा परेका किसानलाई परिचयपत्रको व्यवस्था हुनुपर्ने माग समेत गरेको छ । विगतमा स्थानीयको संरक्षण र सुरक्षाले लुम्बिनी अहिलेको अवस्थामा आएकोले कोषको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव स्थानीय नै हुनुपर्ने संघर्ष समितिका संयोजक अक्रम खानले बताउनु भएको छ। कोषको कार्यकारिणी सदस्य मनोनित गर्दा कम्तिमा २ जना पनि स्थानीय हुनुपर्ने उहाले माग गर्नु भएको छ । 

संघर्ष समितिले परापूर्व कालदेखि बैदिक सनातनीहरुबाट पुजिदै र संरक्षित रहँदै आएको रुमन्देही माई रहेको स्थलमा नै बुद्ध जन्मस्थल भएकाले रुमन्देही माईको पनि संरक्षण गर्न माग गरेको छ ।

संघर्ष समितिले मायादेवी मन्दिरको संरचना र डिजाइन परिवर्तन गर्न नपाइने, अनधिकृत संरचना बनाउन तुरन्त रोक्नुपर्ने, पुरातात्विक स्थल विनाकारण भत्काउन वा स्वरुप बिगार्न रोक्नुपर्ने, स्थानीयले परम्परागत मुण्डन गरिएको कपाल, दुलाहाको मयुर तथा कपुर बत्ति आदि अशोक स्तम्भमा चढाउँदै आएकोलाई एक ठाउँमा व्यवस्थित गर्ने र पिपलबोटमा सिन्दुर पोत्न लगायतका परम्परा मान्न पाउनुपर्ने, मायादेवी मन्दिरमा नित्य पूजा तथा सन्ध्या आरतिको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै परम्परागत रुपमा लाग्दै आएको ऐतिहासिक चैत्र पूर्णिमा मेला समेतका लागि पर्याप्त बजेट तथा स्थानीयको संग्लनता सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।

लुम्बिनी बचाउ संघर्ष समितिका संयोजक, लुम्बिनी बचाउ महाअभियानका सह–संयोजक राम विकास चौधरीले ‘विश्व शान्तिका अग्रदूत तथा महामानव बुद्धको जन्मस्थलका नागरिक राज्यबाटै ठगिदा प्रत्येक नेपाली तथा बुद्धप्रति आस्था राख्ने सबै ठगिएको अनुभूति भएको बताउनु भयो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले उपाध्यक्ष भारतको नयाँ दिल्लीमा रहेको र आन्दोलनरत पक्षसँग शुक्रबार नै बसेर समाधानको उपाय खोजिने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०८-०१ , समय : १३:१३:५६ , ३ महिना अगाडि