कांग्रेस–एमालेको सरकार अन्तिम विकल्प होः सञ्चारमन्त्री गुरुङ

रुपन्देही खबर , ६१  पटक हेरिएको

गण्डकी, साउन १२

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उहाले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले “वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउदै प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको बताउनु भयो ।

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताउनु भएको छ ।

“संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौँ”, उहाले भन्नु भयो , “यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।”

सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने मन्त्री गुरुङको भनाइ छ । डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने उहाले बताउनु भएको छ । सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने मन्त्री गुरुङको भनाइ थियो ।

“अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ”, उहाले भन्नु भयो , “हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।”

मन्त्री गुरुङले टेलिकम सेवालाई थप गुणस्तरीय बनाइने बताए । सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने उहाको भनाइ छ ।

प्रकाशित मिति: २०२४-०७-२७ , समय : २१:३३:५९ , ४ महिना अगाडि