कञ्चनमा शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धी परिचयात्मक बैठक सम्पन्न

जगी लाल थापा , ७९  पटक हेरिएको

कञ्चन, साउन १२

रुपन्देहीको कञ्चन गाउँपालिकामा शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धी परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कञ्चन गाउँपालिकाको शैक्षिक स्तरबृद्धि र शैक्षिकस्तर बृद्धिका लागि शिक्षा क्षेत्रका योजना निर्माणबारे सरोकारवालाहरु बिच छलफल र परियोजना सम्बन्धी जानकारी समेत दिइएको थियो।

कालिका स्वालम्बन सामाजिक केन्द्र, कपिलबस्तको आयोजना, युरोपियन युनियन र युनिसेफको सहयोगमा भएको कार्यक्रममा कालिका स्वालम्बन सामाजिक केन्द्र, कपिलबस्तका कार्यक्रम ब्यबस्थापक हरिचन्द्र चौधरीले शिक्षा क्षेत्र योजना निर्माण गर्दा समावेश गरिनु पर्ने बिषयबस्तु र त्यसका प्रावधानहरुबारे सहजिकरण गर्नु भएको थियो ।

यस्तै कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भूसालले स्थानीय तह शिक्षा योजना तर्जुमा सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको छ । अधिकृत भूसालले पालिकाको समृद्धि एवम समतामूलक कञ्चन गुणस्तरीय शिक्षा भन्ने दीर्घकालीन सोंचमा आधारित रहेर प्रतिस्पर्धि, सक्षम, स्वस्थ, सभ्य, सिपमूलक, संस्कारयुक्त नेपाल र नेपाली गौरव गर्ने जनशक्ती तयार गर्ने लक्ष्य ७ उद्धेश्य र ९ रणनीति समेत तयार गरिएको उल्लेख गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाले पालिकाको शिक्षा क्षेत्र सुधार योजनाको आधारपत्र तयार गरी शिक्षा समितिका पदाधिकारी सदस्यहरु बिच अध्ययन र सुझाव संकलनका लागि पठाइएको बताउनु भएको छ। पालिकाको श्रोत साधन र बिभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग र सहकार्यले पालिकाबाट तयार भएको योजनालाई कार्यान्वयन गर्दा हुने समस्या र सहजताबारे पनि अध्ययन र अनुगमन निरन्तर हुदै जाने अध्यक्ष ढकालले बताउनु भयो ।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन को शैक्षिक अवस्थाबारे बिशेष अध्ययन भएको सोही अध्यनबाट प्राप्त सुझावका आधारमा १० बर्षे शिक्षा क्षेत्र सुधार योजना तयार भएको उल्लेख गर्नु भयो । पालिकाको एकल प्रयासले मात्र कुनैपनि क्षेत्रको सुधार र बिकास नहुने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले सरोकारवालाहरुसंगको सहकार्य, समन्वय र सहयोग आवश्यक पर्ने बताउनु भएको छ ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले जे बोलिन्छ त्यो ब्यबहारमा उतार्ने संस्कारको बिकास गर्न नसक्दा शिक्षा क्षेत्र लगायत कुनै पनि क्षेत्रको समानुपातिक बिकास नहुने बताउनु भएको छ । शिक्षा बिना समाजको रुपान्तरण सम्भव नहुने भएकोले कञ्चनको शिक्षालाई राम्रो बनाउन सबैको एक्यबद्धता र योजना कार्यान्वयनलाई बढी प्राथमिकता दिन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले बताउनु भएको थियो ।

यस्तै सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम निर्देशक गोपाल बहादुर के.सीले शिक्षा क्षेत्रलाई सुधारोन्मुख बनाउन नसकिनुमा किशोर किशारीहरु लागु औषध दुर्ब्यसनी नियन्त्रणलाई शिक्षा क्षेत्र योजनामा समावेश हुनुपर्ने उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा यु. एस. ए. आई. डी.(USAID) का राधा अधिकारीले कञ्चनलाई शिक्षा क्षेत्रमा अब्बल बनाउन र समुदायका हरेक पक्षलाई शिक्षा प्रति उत्तरदायी र जिम्मेवार बनाएर बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा पुर्याउन सरोकारवालाहरुको बिशेष पहलकदी हुन आवस्यक रहेको बताउनु भएको छ ।

कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा कालिका स्वालम्बन सामाजिक केन्द्रका सुचेता शाक्यले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनीधि, शिक्षा समितिका पदाधिकारी, बिद्यालय प्रधानाध्यापक तथा प्रतिनीधि, ब्यबस्थापन समितिका प्रतिनीधि र पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२४-०७-२७ , समय : १४:२३:४२ , ४ महिना अगाडि