लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

रुपन्देही खबर , १७६  पटक हेरिएको

बुटवल, साउन ७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएसँगै लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गर्नु भएको हो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका महराले विश्वास मत नपाउने निश्चित भएपछि आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको थियो । मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो।

कांग्रेस र एमालेको गठबन्धनबाट एमाले संसदीय दलका नेता लिला गिरीलाई नयाँ मुख्यमन्त्री बनाउने गरी दाबी गर्ने तयारी छ।

नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले कांग्रेस र एमालेबीच लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी सहमति भइसकेको बताउनु भएको छ ।

‘हामीबीच सहमति भएको छ। सोमबार दिउँसो १ बजे मुख्यमन्त्रीमा दाबी पेस गर्नेछौं,’ चौधरीले भन्नु भयो ।

लुम्बिनीमा एमाले सबभन्दा ठूलो दल हो। एमालेका २९ सांसद छन् भने अर्को सत्ता साझेदर दल कांग्रेसका २७ सांसद छन्। यी दुई दलका मात्रै ५६ सांसद पुग्छन्। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ। दुई ठूला दलले मात्रै सरकार बनाउन कुनै समस्या छैन।

कुल दश वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी (विभाजित हुनुअघिको) ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना र १ स्वतन्त्र गरी ८७ सांसद छन्।

प्रदेश सभामा रहेका १० दलमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सबै दल नयाँ गठबन्धनमा रहने बताइसकेका छन्।

प्रकाशित मिति: २०२४-०७-२२ , समय : ०८:३२:५८ , ४ महिना अगाडि