रुपन्देही खबर , १४८ पटक हेरिएको
भैरहवा, साउन ६
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले आइतबार (आज) विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकमा उहाले विश्वासको मत लिन लाग्नु भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनु भएको छ ।
नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नु भएको हो। लुम्बिनीमा एमालेका २९ र नेपाली कांग्रेसका २७ सांसद छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) का १० सांसद छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४–४जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनमत पार्टीका ३–३ जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) मा २ जना र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमा १ जना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १–१ जना सदस्य छन् भने १ जना स्वतन्त्र सदस्य छन् ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।
प्रकाशित मिति: २०२४-०७-२१ , समय : ११:३७:४४ , ४ महिना अगाडि