रुपन्देही खबर , २०३ पटक हेरिएको
बेलायत, साउन ४
प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभ लाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गर्नु भएको छ । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गर्नु भएको हो । दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाउनु भएको उहाँ परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी रकम संकलन गर्नु भएको हो । उक्त दौड उहाले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पुरा गर्नु भएको थियो । उक्त रकम दक्षिणकाली नगरपालिका ३ फर्पिङमा निर्माणाधिन मीरा राई टे«निङ सेन्टर तथा आवासका लागि खर्च गरिने छ । राजेन्द्रलाई उक्त रकम उनकी पत्नी अनिता, इष्टमित्र तथा आफन्त सन्तोष राई, प्रकाश गुरुङ, लव गुरुङ, प्रदीप गुरुङ, नेपाल रन युके लगायत लालीगुराँस एसोसियसन हङकङ, युके, अष्ट्रेलिया र नेपाल लगायतले सहयोग गर्नु भएको हो । राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्व खेलाडी पनि हुनुहुन्छ ।
भवन निर्माण स्थल फर्पिङमै पुगेर व्यवसायी तथा सामाजिक अभियन्ता सुनिल गुरुङ र प्रकाश गुरुङले बिहिबार मीरा र इनिसियटिभका महासचिव तेन्जी शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । खेलकुदप्रेमी सुनिल प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार पनि हुनुहुन्छ । विश्वभर छरिएर रहेका नेपालीहरुलाई सहयोगका लागि अपिल गर्दै गुरुङले संसारभर नेपालको नाम चम्काउँने मीरा जस्ता साहसी खेलाडीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ । करिब १ करोड ५० लाखको लागतमा बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवन अल्ट्रा ट्रेल रनिङ खेलाडीहरुका लागि आवास तथा तालिमका लागि प्रयोगमा ल्याइनेछ ।
‘देशविदेशमा रहेर अथक मेहनतका साथ आर्जन गरेको रकम हाम्रो सपना पुरा गर्न खर्चिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु’, मीराले खुशी व्यक्त गर्दै भन्नु भयो । ‘यो सहयोगले हामीलाई अत्यन्तै खुशी मात्र बनाएको छैन, खेलाडीहरुका लागि यथासम्भव छिटो आवास निर्माण गर्न थप बल पुगेको छ ।’
अल्ट्रा ट्रेल रनिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको यो अभियानमा यस्तो सहयोगले ठूलो आत्मबल मिल्ने समेत उहाले बताउनु भएको छ । आफुले अहिलेसम्म जाने सिकेका कुरा नयाँ पिढीलाई हस्तान्तरण गर्न चाहन्छु’, मीराले भन्नु भयो ।, ‘अवसर नपाएका प्रतिभावान खेलाडीहरु खोजी नेपाली ट्रेल रनिङलाई विश्वमाँझ चिनाउँने लक्ष्य छ ।’ देश विदेशमा खेलेर जम्मा गरेको पैसाले जग्गा जोडन सफल भएपनि भवन बनाउन सम्भव थिएन तर विश्वभर रहनुहुने शुभचिन्तकहरुका सहयोगले आज सपना साकार हुने अवस्थामा आइपुगेको समेत उहा बताउनु भयो ।
विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्नु भएको नेपाली धाविका मीरा राई सन् २०१७ मा नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) की विजेता पनि हुनुहुन्छ । ट्रेल रनर मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नु भएको छ । हिमाली दौडमा विश्वमै चर्चित उहाले २०७० को चैतमा अल्ट्रा रेसमा प्रवेश गर्नु भएको थियो ।तत्कालीन् सेना समायोजनमा माओवादी छापामारको रुपमा ‘अयोग्य’ ठहरिएपछि उहाको जीवन खेलतर्फ मोडिएको थियो । उहाले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किलोमिटरको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जित्नु भएको थियो। उहाले हङकङ, इटाली, नर्वे लगायत देशमा भएका अल्ट्रा म्याराथनमा च्याम्पियन भइसक्नु भएको छ ।
प्रकाशित मिति: २०२४-०७-१९ , समय : १३:१८:५७ , ४ महिना अगाडि