एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त

ओली सहित  मन्त्रीहरूको शपथ आज

रुपन्देही खबर , २०५  पटक हेरिएको

काठमाडौं, असार ३१

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भएको छ ।

नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनु भएको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ आज सोमबार बिहान ११ बजे शितल निवासमा हुनेछ। गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सहमति भएको थियो। त्यसपछि एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उहा पदमुक्त हुनु भएको थियो ।

सोही दिन राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबार अपराह्न ५ बजेभित्र नयाँ सरकार गठनको लागि दाबी पेस गर्न समय दिनु भएको थियो ।

त्यसको केही घन्टाभित्रै कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नु भएको थियो । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७८ जना सांसद छन्।

यसबीचमा राष्ट्रपति पौडेलले दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिनु भएको थियो ।

बहुमतका लागि यी दुई दलका सांसदले मात्रै पर्याप्त हुन्छ। तर यो सरकारमा संसदमा रहेका साना दलहरूलाई पनि सहभागी गराउने तयारीमा कांग्रेस र एमाले छन्।

संविधानका कतिपय व्यवस्था पुनरावलोकन गर्ने समझदारी गरेका कांग्रेस र एमालेले सरकारलाई दुई तिहाइको समर्थन जुटाउने जमर्को गरेका छन्। यसैबीच कांग्रेस र एमालेले ओली सरकारमा सहभागी हुने मन्त्रीहरू सोमबार बिहानसम्म टुंगो लगाउने भएका छन्।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : ०६:३३:१३ , ५ महिना अगाडि