रविका हत्यारा पक्राउ गर्न युवा संघको दवाव दिंदै प्रशासनमा ज्ञापन पत्र

पक्राउ नपरे बन्द हड्तालका कार्यक्रम गर्ने चेतावनी

रुपन्देही खबर , २७३  पटक हेरिएको

भैरहवा,असार २७

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले रवि थापाको हत्यामा सम्लग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न ज्ञापन पत्र मार्फत प्रहरी प्रशासनलाई दवाव दिएको छ ।

विहीवार युवा संघ रुपन्देहीका अध्यक्ष विकास वस्नेतको नेतृत्वमा सय बढी युवाहरु जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर संघका पुर्व सदस्य रवि थापाको हत्यामा सम्लग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

संघको तर्फबाट अध्यक्ष वस्नेतले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहित प्रहरी प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा घटनालाई नजर अन्दाज गरेर अपराधीलाई तत्काल पक्राउ नगरिए बन्द अडतालसम्मका विरोधका कार्यक्रमहरु आयोजना गर्ने चेतावनी दिइएको छ । ज्ञापनपत्रमा भनिएको छ “ “घटनाको अनुसन्धान मार्फत अपराधीलाई पक्राउ गरी सजाय दिने काममा भएको ढिलासुस्ती र लाहपरवाहीप्रति गम्भिर आपत्ती प्रकट गर्दै उक्त जघन्य अपराधमा सम्लग्न व्यक्तिलाई यथासिघ्र प्रक्राउ गरी क्षतिपूर्ति सहित कानुनी कारावाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । अपराधी पक्राउ गर्न ढिलासुस्ती भएको खण्डमा प्रशासन कार्यालयमा धर्ना दिने, सरकारी नम्बर प्लेटका सवारी साधन संचालनमा रोक लगाउने,रांके जुलुस प्रर्दशन गर्ने, बन्द हडताल गर्ने लगायतका चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने व्यहोरा समेत जानकारी गराउंदछौं । ”

“अपराधीको पहिचान भईसकेको अवस्थामा समेत संगठनको तर्फबाट पटक पटक ईलाका प्रहरी कार्यालय लगायत सरोकारवाला निकाय सम्म दवाव दिंदा पनि हालसम्म पक्राउ नपर्ने विषयले हामीलाई अत्यन्त चिन्तित बनाएको छ । प्रहरी अनुसन्धानप्रति पनि प्रश्नचिन्ह खडा भएको छ । ” ज्ञापनपत्रमा भनिएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य एमव् लुम्बिनी प्रदेश ईन्चार्ज केशव रोकाले विगतका घटनाहरुले अपराधी समयमै पक्राउ नपर्दा अर्को घटना घटाउन सक्ने परिस्थिति खडा हुनसक्ने तर्फ प्रशासनलाई सचेत बनाउनु भयो ।

बुटवल उपमहानगरपालिका ७ निवासी रवि थापामाथि गत जेठ २ गते बुटवल कालिकानगरमा रहेको एक रेष्टुरेण्टमा काम गरिरहेकै अवस्थामा छुरा प्रहार भएको थियो । घम्भिर घाईते रविको डेढ महिना लामो उपचारमै रहेको अवस्थामा यही असार १८ गते निधन भएको हो । मृतक थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पुर्व सदस्य हुनुहुन्थ्यो ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रहरी अपराधी नजिक पुगेको जानकारी गराउदै छिटो भन्दा छिटो पक्राउ गरी सार्वजनिक गर्ने आश्वसन दिनु भएको छ । सिंगो युवा संघलाई अपराधीलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गर्न उहाले अनुरोध गर्नु भएको छ । घटना घट्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उहाले बताउनु भएको छ । युवा संघलाई विरोधका कार्यक्रमसम्म पुग्नु पर्ने अवस्था नआउने गरी प्रहरीले काम गरिरहेको रुपन्देहीका प्रहरी प्रमुख रंजित सिंह राठौरले बताउनु भएको छ । सो अवसरमा केन्द्रिय सदस्य बुद्धिराज थापा, कल्पना पाडे मगर हत्या गरिएका युवा रवि थापाकी दिदी मधु थापा, श्रद्धा कुंवर, नेकपा एमाले पार्टी जिल्ला सदस्य नकुल शाही, विकास ज्ञवाली, कृष्ण मल्ल ठकुरी,युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रबिन आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२४-०७-११ , समय : १५:३३:४६ , ३ महिना अगाडि