रेखा भुसाल , ३०४ पटक हेरिएको
बुटवल, असार ८
बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। बुधबार दिउँसो १ बजे भएको नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बुधबार नै अपरान्ह ५ बजे बसेको नगरसभाको दोश्रो बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
नगरप्रमुख पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माण जस्ता नीति अघि सार्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत नगरबासीको जीवनस्तरमाथि उकास्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने भनिएको छ। नीति कार्यक्रममा लैगिक,जातीय,क्षेत्रीय,धार्मिक सांस्कृतिक तथा भाषिक विभेदलाई निषेध गर्ने भनिएको छ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाण्डेले बुटवललाई विकास र समृद्धिको बाटोमा डोर्याउन भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै अगाडि बढाउने नीति लिइएको बताए। गरिबी न्यूनीकरण गर्दै आत्मनिर्भर बुटवलको नारालाई साकार पार्न स्वरोजगार सिर्जनामा जोड दिइएको छ। विशेष गरी युवा तथा महिलालाइ उद्यमसील बनाउने लक्ष्य लिइएको छ। उद्यमशीलता विकासका लागि गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने, श्रम बैक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरुलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको नगरप्रमुख पाण्डेले बताए। खर्च प्रणालीलाई थप व्यवस्थित र पारदर्सी बनाउँदै भ्रष्टाचार विरुद्ध शून्य शहनशीलताको नीतिलाई कार्यान्वयन गर्ने उल्लेख छ।
आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउने, स्वास्थ्य संस्थाको स्तरोन्नति, सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन,नवजात शिशु, आमा र बालबालिकाको पोषण लक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ। नगरको नगरको सेवालाई छिटो, छरितो र सहज बनाउन,जनताका जनगुनासा र सुझावका लागि मेयरसँग जनता कार्यक्रम गरिने भएको छ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरु अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनलाई नीति तथा कार्यक्रमले समेटेको छ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको एकीकृत वेभसाइट निर्माण गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने, इलाइब्रेरी संचालनको नीति नगरले अघि सारेको छ। नीति तथा कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ।
खेलकुदतर्फ नगरले एन्फा टेक्निकल सेन्टरसँगैको क्षेत्रलाई स्पोर्टस् जोनका रुपमा विकास गर्ने, वडा नं १३ जबईमा राष्ट्रिय स्तरको फुटवल रंगशाला र वडा नं १६ डहरगाउँमा राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, तिलोत्तमा गोल्डकप नियमित गर्ने नीति अघि सारीएको छ।
एक वडा एक पहिचान, एक वन एक पार्क, एक वडा एक ज्येष्ठ नागरिक चौतारी निर्माण, चुरे पहाडको पहिरो नियन्त्रण गर्दै गौरव कै आयोजना अन्तर्गत पर्यटकीय संरचना निर्माण गर्न सहकार्य गर्ने जस्ता नीति नगरले अघि सारेको छ।
पार्किङ व्यवस्थापनका लागि स्मार्ट पार्किङ कार्यक्रम अघि सारेको नगरले निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजना सञ्चालन गर्ने भनेको छ। बुटवलको अमरपथ लगायतका मुख्य र व्यस्त बजार क्षेत्रलाइ वन वे बनाउन पहल गर्ने नीति लिइएको छ। रात्रीकालीन बजार सञ्चालन गर्ने भनिएको छ।
खानेपानी समस्या दीर्घकालीन समाधानका लागि एकीकृत खानेपानी तथा सरसफाई बोर्ड गठन गर्ने, झुम्सा खानेपानी आयोजना सञ्चालनका लागि पहल गर्ने भनिएको छ। नदीजन्य पदार्थको अनावश्यक उत्खनन् र दोहन रोकी श्रोत वृद्धि गर्न नगरले आँफै उत्खनन् गरेर भण्डारण गर्ने र आवश्यकता अनुसार विक्री वितरण गर्ने नीति लिने भएको छ। यस्तै, बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने, पूर्वमेयरहरु तथा उपबिजेतासँग भेटघाट कार्यक्रम,
यसैगरी, तिनाउलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउँदमा पानी संकलन गरेर स्टिमर चलाउने, साँझमा आरती गर्ने गरी तिनाउ आरती केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम उल्लेख छ। राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास–बेथरी सडक यथाशीघ्र निर्माण र मर्मत गर्न पहल गर्ने, मोतिपुर सेमलार क्षेत्रका ६ वटा वडालाई कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रीनसिटीमा रुपान्तरण गर्ने उल्लेख छ।
पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल–१६ कर्साघाटमा शवदाह स्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण गर्ने भनिएको छ।
भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको सम्बन्धमा भुमि आयोगसंगको समन्वय र सहकार्यमा समस्या समाधान गर्ने भनिएको छ।कृषि विकासमा के पाइन्छ होइन, के चाहिन्छ नीति अवलम्बन गरिने उल्लेख छ। कृषि बाली उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन, जग्गा बाँझो राख्न निरुत्साहन, बुटवल १२–१९ मा हरियाली कृषि प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख छ। बुटवलको मुख्य समस्याको रुपमा रहेको फोहोर मैला व्यवस्थापनकालागि दिर्घकालिन बैज्ञानिक विधि अपनाइने भनिएको छ।
फोहोरको उत्पादनमै कमि ल्याउन नगरबासीलाई प्रोत्साहन गर्ने,आम नगरबासीलाइ सरसफाइमा परिचालन गर्दै अन्तिम व्यवस्थापन क्षेत्रगत रुपमा गर्ने नीति अवलम्बन गर्ने भनिएको छ। फोहोरको उचित व्यवस्थापनमा छिमेकी पालिकाहरुसँगको सहकार्य गर्ने भनिएको छ।
संचार क्षेत्रको विकास र सम्बद्र्धनकालागि पत्रकारिता अनुसन्धान केन्द्र तथा सञ्चारग्राम स्थापनाको पहल गर्ने नगरप्रमुख पाण्डेले बताए। त्यस्तै मिडिया हाउस सञ्चालनका लागि सहयोग, पत्रकारकालागि उपकरण खरिदमा अनुदान, पत्रकार स्वास्थ्य बीमा कार्यक्रम, स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार तथा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित मिति: २०२२-०६-२२ , समय : २२:४८:३८ , २ वर्ष अगाडि