रुपन्देही खबर , ६३५ पटक हेरिएको
भैरहवा , असार ८
रुपन्देहीको भैरहवा बालसुधार केन्द्रमा राखिएका बाल कैदीहरुले रुपन्देही प्रहरीमाथि आक्रमण गर्दा रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल घाइते हुनु भएको छ । सुधारकेन्द्रभित्र भएको झगडा मिलाउन पुग्नु भएको डीएसपी पौडेलमाथि सुधार केन्द्रमा राखिएका बाल कैदीले रड प्रहार गरि घाइते बनाएका हुन् ।
सुधारकेन्द्रमा दिनहुँ झै झगडा भएको उजुरीका आधारमा उनीहरू मध्य केहीलाई सुधारकेन्द्रबाट अन्यत्र लैजानका लागि डीएसपीको नेतृत्वमा टोलि पुगे लगत्तै बालसुधार केन्द्रमा रहेका बालकैदीहरुले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरी पुगे लगत्तै सुधारकेन्द्र भित्रबाट ताला लगाएर उनीहरुले नाराबाजी सुरु गरेका थिए । सुधारकेन्द्रभित्र गैरकानुनी काम भएको सुचनाका आधारमा सर्च गर्न जाँदा झडप भएको रुपन्देही प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले बताउनु भएको छ । झडप नियन्त्रण गर्ने क्रममा २ सेल टियर ग्याँस प्रहार भएको उहाले बताउनु भयो । केन्द्र भित्रबाट गैरकानुनीरुपमा गाँजा, मोबाईल, फलामका रड भेटिएको पनि उहाले बताउनु भएको छ भने सुधारगृहमा प्रहरीको सर्च जारी छ ।
झगडा मिलाएर केही बाल बन्दीहरुलाई अन्यत्र सार्न पुग्नु भएको डिएसपी पौडेल माथि सुधार केन्द्र भित्र प्रवेश गरे लगत्तै फलामको रडले टाउकोमा प्रहार गरेको बताइएको छ । सुधारकेन्द्रमा रहेकाहरुले प्रहरी बिरुद्ध चर्को नाराबजी गरिरहेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: २०२२-०६-२२ , समय : ००:३२:१४ , २ वर्ष अगाडि