लुम्बिनीको ओडवलीयामा श्री श्री ११ दिवसीय रुद्र महायज्ञ सम्पन्न

महायज्ञको लागी छुटयाएको बजेट कटौती

उर्मिला यादव यात्री , ३७८  पटक हेरिएको

भैरहवा, जेठ २०

श्री बैष्णवी दुर्गा माता मन्दिर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ कालीदह ओडवलीया रुपन्देहीमा श्री श्री ११ दिवसीय रुद्र महायज्ञको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । जेठ १० गतेदेखि सुरु भएको महायज्ञ आज आइतबार समापन गरिएको महायज्ञ समितीका अध्यक्ष रामकिसुन यादवले जानकारी दिनु भएको छ । हिन्दु धर्मको संरक्षण र बिकासका लागी प्रत्येक बर्ष रुद्र महायज्ञ हुदै आएको छ । महायज्ञमा रुपन्देही, कपिलबस्तु, भारतको कक्रहवाबाट पनि भक्तजनहरु आउने गरेका छन । ११ दिन सम्म संचालन भएको महायज्ञ अवधीभरीमा १० देखि २० हजार भन्दा बढी भक्तजनहरु पुजापाठ गर्न आएको महायज्ञ समितीका अध्यक्ष यादवले बताउनु भयो ।

२ बर्ष अगाडी देखि सुरु भएको रुद्र महायज्ञ ५ बर्ष सम्म निरन्तर रुपमा गर्दै जाने श्री बैष्णवी दुर्गा माता मन्दिर कालीदहका संरक्षक सीताराम गौतमले बताउनु भएको छ । बि.स. २०४० सालमा स्थापना भएको यो मन्दिर हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ भने मन्दिरमा ५ देखी ६ जना साधु महन्थहरु बस्दै आएका छन ।

श्री बैष्णवी दुर्गा माता मन्दिरमा महायज्ञका गर्नका लागी लुम्बिनी सांस्कृतिक नगरपालिकाले छुटयाएको ५० हजार रुपैयाको बजेट समेत कटौती गरेको मन्दिरका पुजारी तथा संरक्षक सीताराम गौतम आसामी बाबाले बताउनु भएको छ । उहाले यहा हिन्दु मुस्लिम दुबै समुदायले यो यज्ञमा सहयोग गरेको बताउनु भएको छ भने लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुदिन मुसलमानले पनि महायज्ञमा आएर सहयोग गरेको आसामी बाबाको भनाइ छ । महायज्ञको लागी छुटयाएको बजेट लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ मा माग गर्दा नपाएको महायज्ञ समितीका अध्यक्ष यादवको गुनासो छ । उहाका अनुसार वडा नम्बर १३ का वडाध्यक्ष सई मुहम्मद खांले बजेट छुटयाए पनि नदिने बताएका छन ।

यता वडा नम्बर १३ का वडाध्यक्ष खांले महायज्ञको लागी शीर्षक नै तोकेर बजेट बिनियोजन गरे पनि जग्गा बिवादका कारण आसामी बाबाले आफु बिरुद्ध अदालतमा मुद्धा दर्ता गरे पछि बजेट कटौती गरेको बताउनु भएको छ । उहाका अनुसार नगरपालिकाको बैठक बसेर नै महायज्ञको लागी छुटयाएर रकम अर्काे शिर्षकमा सारेको बताउनु भएको छ ।
नगरपालिकाले बजेट नै कटौती गरेपछि त्यहाका स्थानियहरुको आर्थिक सहयोगमा महायज्ञ गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-०२ , समय : २२:१६:४४ , ६ महिना अगाडि