रुपन्देही खबर , २५८ पटक हेरिएको
धकधई, जेठ १८
रुपन्देहीको रोहिणी गाउपालिकाले आफनो गाउपालिका भित्रका विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ । यस्तै, पालिकास्तरीय कक्षा ८ को परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । शुक्रबार रोहिणी–३ स्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ८५ जना बिद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।
‘गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत साइकल वितरण तथा सम्मान कार्यक्रम गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधुप्रसाद घिमिरेले बताउनु भएको छ । अतिविपन्न तथा जेहेन्दार गरी ८५ जनालाई साइकल वितरण गरिएको उहाले बताउनु भएको छ । ‘कार्यक्रममा कक्षा ८ गाउँपालिकाभरीमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । यस्तै हरेक विषयका दुईजना सर्वोत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको उहाले बताउनु भएको छ ।
गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताउनु भएको छ । उहाले सडक, भवन बनाएर मात्र विकास नहुने भएकोले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनु भएको छ ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले आगामी दिनमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई पनि कामका आधारमा सम्मान गर्नुपर्ने बताउनु भएको छ । यस्तै उहाले अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्नेमा जोड दिनु भएको छ ।
वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक आबिद अली पठानले आगामी दिनमा यो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भएको छ । वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खाँले सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै आएको बताउनु भएको छ । उहाले साइकलले विद्यार्थीहरुको मनोबल बढाउने विश्वास व्यक्त गर्नु भएको छ ।
गाउँपालिकाका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले रोहिणी गाउँपालिकाले अत्यन्तै राम्रो काम गरेको बताउनु भएको छ । उहाले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षकमा उर्जा, जोस र जाँगर बढाउने विश्वास व्यक्त गर्नु भएको छ । छिपागढ माध्यमिक विद्यालयका शिक्षक अहमद अली अन्सारीले विद्यार्थीहरुको मिहिनेतको कारण शिक्षकले निधारमा रातो टीका लगाउन पाएको बताउनु भएको छ । उहाले आगामी दिनमा राम्रो नतिजा ल्याउन सके सम्मानको महत्व अझ बढ्ने बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-०५-३१ , समय : २२:४४:४२ , ६ महिना अगाडि