सिद्धार्थनगर वडा नम्बर ५ मा सेनेटरी प्याड सम्बन्धि तालिम सुरु

रुपन्देही खबर , २४०  पटक हेरिएको

भैरहवा, जेठ १४

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा कार्यालय ५ को आयोजनामा सेनेटरी प्याड सम्बन्धि तालिम आइतबारदेखि सुरु भएको छ । किशोरी र महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेनेटरी प्याड सम्बन्धि सात दिने तालिमको आयोजना गरिएको हो । तालिमको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले सहभागीहरुलाई गम्भिरताका साथ तालिम लिन आग्रह गर्दै आफुले सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ । उहाले तालिम मार्फत सिकेको सीपलाई अन्यलाई पनि सिकाए थप उपयोगी हुने समेत बताउनु भएको छ । नगरप्रमुख खांले स्वास्थ्य क्षेत्रमा सिद्धार्थनगरले निकै फलदायी कार्यक्रमहरु गर्दै आइरहेको बताउदै स्वास्थ्यप्रति सचेत र सजग रहन नगरवासीमा समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बजारमा उपलब्ध केमिकलयुक्त प्याड भन्दा तालिममा प्राप्त सीपअनुसार बनाइएको प्याड निकै उपयोगी हुने बताउनु भएको छ । उहाले २१ औं शताब्दीमा आइपुग्दा पनि हामीले खरीद गरेको प्याड लुकाएर लैजाने गरेको बताउदै प्याड कुनै लुकाउनुपर्ने वस्तु नभएको बताउनु भयो । उहाले किशोरी र महिलाहरु खुलेर अगाडी आउनुपर्ने बताउदै स्वास्थ्यसम्बन्धी कुनै समस्या भए पनि लुकाउन नहुने जोड दिनु भयो । उहाले स्वास्थ्य सम्बन्धी कुराहरुको छलफल गर्नका लागि गाउँटोलमा हाम्रो महिला स्वास्थ्य स्वयंसेविकाहरु र नगरमा स्वास्थ्य चौकीहरु भएकोले स्वास्थ्य सम्बन्धी जानकारीहरु त्यहाबाट लिन सकिने बताउनु भयो ।

यस्तै गरी सिनपा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै किशोरी÷महिलाहरुको स्वास्थ्यप्रति वडा कार्यालय संवेदनशील रहेको बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले आधारभूत स्वास्थ्य केन्द्र र खोप केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको बताउनु भएको छ । उहाले सीपको प्राप्तीका लागि सूचना अनुसार स्वतस्र्फूत रुपमा वडावासी आउनुपर्नेमा बोलाएर सेवा दिनुपरेको र यसको अन्त्यका लागि आफ्नै वडा कार्यालयमा वडाबासीहरु समय समय आएर सुझाव÷सल्लाह दिन आग्रह समेत गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले नगरसंगै वडा मिलेर यस्ता बिभिन्न किसिमका सीप मुलक तालिमलाई निरन्तरता दिन आग्रह गर्दै आयोजना गरिएको कार्यक्रमले धेरै किशोरीरमहिलाहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरप्रमुख इश्तियाक अहमद खांको प्रमुख आतिथ्यतामा सात दिने सेनेटरी प्याड बनाउने तालिमको सुरुवात गरिएको छ । तालिममा वडा नम्बर ५ को वडासदस्य किरनदेवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन वडानम्बर ५ को महिला सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सिनपा वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, वडा सदस्य विनित कुमार बेरिवाल, प्रेम नारायण तेली गुप्ता, स्थानीयबासी, सरोकारवला ब्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो । जेठ १३ गतेदेखि १९ गते सम्म संचालन हुने सात दिने तालिममा वडाका २५ जना किशोरी तथा महिलाहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति: २०२४-०५-२७ , समय : १२:५७:५१ , ६ महिना अगाडि