२५६८ औं बुद्धजयन्तीको अवसरमा सिद्धार्थ सञ्जालद्धारा भैरहवामा दीप प्रज्वलन

रुपन्देही खबर , १८६  पटक हेरिएको

भैरहवा, जेठ ११

२५६८ औं बुद्धजयन्तीको पूर्व संध्यामा सिद्धार्थ सञ्जाल, रुपन्देहीले दीप प्रज्वजलन गरेको छ । सञ्जालले बुधबार साँझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्जवलन गरेको महासचिव संजय बजिमयले बताउनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिका गौतमबुद्धको नामबाट नामाकरण गरिएको बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाको भविष्य कता गइरहेको छ यस बिषयमा गहन छलफल गर्न जरुरी रहेको बताउनु भएको छ । उहाले हाम्रा छोराछोरीको भविष्यका लागि हामीले गर्ने सम्पूर्ण गतिविधि राम्रो हुनुपर्ने बताउदै नगरपालिकाको विकासका लागि राम्रो सुझाव दिने सम्पूर्ण टीमलाई धन्यवाद दिनु भएको थियो ।

सिद्धार्थ सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बुद्धजयन्तीको पूर्व संध्यामा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर भैरहवामा दीप प्रज्जवलन गरिएको बताउनु भएको छ । उहाले प्रत्येक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनु भएको छ । उहाले गौतमबुद्धले लुम्बिनीबाट शान्तिको सन्देश फैलाउने काम गरेकाले लुम्बिनीको विकास आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले यस्ता कार्यक्रमले लुम्बिनीको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

दीप प्रज्जवलन कार्यक्रममा सञ्जालका सह–कोषाध्यक्ष मधु प्रसाद पन्थी, कार्यसमिति सदस्य हरिष सेठिया लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२४ , समय : १०:१६:२१ , ५ महिना अगाडि