लुम्बिनीमा बृहत्तर लुम्बिनीको प्रवर्द्धनमा मिडियाको भुमिका बिषयक अन्तरक्रिया

रुपन्देही खबर , २०९  पटक हेरिएको

लुम्बिनी, जेठ ८

लुम्बिनी प्रेस क्लबको आयोजना तथा लुम्बिनी बिकास कोष लुम्बिनीको सहकार्यमा आज लुम्बिनीमा शान्ति र अहिंसाका पथप्रर्दशक भगवान गौतम बुद्धको २५६८ औं बुद्धजयन्तीको अवसरमा बृहत्तर लुम्बिनीको प्रवर्द्धनमा मिडियाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माको अध्यक्षता तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा खेन्पो छिमेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कोषका उपाध्यक्ष डा. लामाले बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताउनु भएको छ । उहाले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । उहाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बुद्ध जयन्ती प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक एंवम कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले यहि ९ गतेदेखी सुरु हुने २५६८ औं बुद्धजयन्ती लुम्बिनी सहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने मनाउने बताउनुु भएको छ । उहाले मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरुसहित उच्चस्तरीय पदाधिकारी, कुुटनीतिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागीता रहने बताउनु भयो ।

भटटराइका अनुसार जेठ ९ गते बुधबार साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ । मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागीतामा प्रार्थना सभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभा यात्रा हुनेछ । लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्ने गरी त्रिदेशीय मोटरसाइकल यात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताउनु भएको छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्ध जयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ ।

कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । कार्यक्रममा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राई लगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा आफूहरु पत्रकारहरुसँग सहकार्य गर्दै आगाडि बढ्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, कोषका प्रेस कन्सल्ट्यान्ट विनोद परियार, क्लबका महासचिव शंकर प्रसाद पाण्डेले बाल्दै ै मिडियासँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा लुम्बिनी विकास कोषका बोर्ड सदस्यहरु राजेश शाक्य, श्याम रोक्का, सूचना अधिकारी राजन बस्नेत, नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलवस्तु र नवलपरासीका अध्यक्ष तथा प्रतिनिधि एवं तथा तीनै जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२१ , समय : २३:०६:१४ , ६ महिना अगाडि