रुपन्देही खबर , २५० पटक हेरिएको
मणिग्राम, जेठ ५
रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा जर्नल विमोचन र ५ दिने अनुसन्धनात्मक प्रशिक्षण सम्पन्न भएको छ ।
अनुसन्धान समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा भएको प्रशिक्षण समापन गर्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले शैक्षिक गुणस्तर उच्च बनाइराख्न प्रशिक्षण उपयोगी हुने बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित सो कार्यक्रममा डा. अशोक भण्डारी, कृष्णकुमार रेग्मी र नोवराज तिवारीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राममणि सहित रूपन्देही क्याम्पस, पशुपति कलेज र बुटवल कालिका क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
त्यसअघि, गत मंगलबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले प्रशिक्षण उद्घाटन गर्दै विश्वस्तरको शिक्षा विकाशका लागि अनुसन्धान कार्य प्रभावकारी हुने बताउनुभएको थियो ।
सोही अवसरमा क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाईले प्रकाशन गर्दै आएको अनुसन्धनात्मक पत्रिका “द जर्नल अफ एकेडेमिक डिभलपमण्ट”को आठौं अङ्क विमोचन गरिएको थियो । साथै, यसै वर्षदेखि सो जर्नलका लेखहरूको समकक्षी समीक्षा सहित सम्पादन गरी नेप्जलमा समेत प्रकाशित भएको जानकारी दिइएको थियो ।
अनुसन्धान व्यवस्थापन एकाई राममणि बहुमुखी क्याम्पसका संयोजक डा. अशोक भण्डारीको अध्यक्षता एवम् सदस्य माया घिमिरेको सञ्चालनमा उद्घाटन तथा समापन कार्यक्रम भएको थियो ।
कार्यक्रम समापनमा बोल्दै सहभागीहरूः राममणि क्याम्पसका विभागीय प्रमुख लक्ष्मण खरेल र पशुपति कलेजका उपप्राध्यापक कविता भण्डारीले प्राध्यापकहरूको कार्यकुशलता बढाउँदै शैक्षिक गुणस्तर उकास्न प्रशिक्षणले प्रेरित गरेको बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०५-१८ , समय : २१:५५:१४ , ६ महिना अगाडि