सन्ताेष कुमार गुप्ता , २४४ पटक हेरिएको
भालुवाङ, बैशाख ६
लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् ।
मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
२३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
प्रकाशित मिति: २०२४-०४-१८ , समय : १८:४४:४८ , ७ महिना अगाडि