उर्मिला यादव यात्री , ३३३ पटक हेरिएको
भैरहवा ,बैशाख ६
नेपाल आयल निगम लिमिटेडले रुपन्देहीको ओमसतिया ५ रोहिणी खोला किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्ने कार्य सुरु गरेको छ । निगमले बुधबार आयोजना गरेको भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माण गर्ने कार्यको रोहीणी गाउपालिकाका अध्यक्ष बिद्या प्रसाद यादव र ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव सोनुले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले रोहिणी र ओमसतियामा डिपो निमार्ण हुनु खुसीको बिषय भएको बताउनु भएको छ । उहाले रोहिणी गाउपालिकाबाट सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउदै यस क्षेत्रमा रहेको आन्तरिक समस्याहरुलाई ख्याल गर्न आग्रह समेत गर्नु भएको छ । अध्यक्ष यादवले यस क्षेत्रमा डिपो निमार्ण हुनु खुसीको बिषय भए पनि यस ठाउमा रासायनिक मलको कलकारखाना खोल्ने कुरामा आफुहरु सहमत नभएको बताउनु भएको छ । उहाले यस क्षेत्रमा रासायनिक कलकारखानाको निमार्णले बातावरणीय र्दुगन्ध बढने भएकोले यस बिषयमा बिशेष ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले ओमसतिया ५ मा रहेको ऐतिहासिक सतियामाइ मन्दिर पनि संगै रहेकोले यसको बिकासमा असर नपर्ने गरी काम गर्न आग्रह गर्नु भएको छ ।
उहाले स्थानिय क्षेत्रमा निमार्ण भैरहेको डिपोमा स्थानियलाई नै प्राथमिकतामा राखेर रोजगारीको सिर्जना गर्न अनुरोध गर्नु भएको छ ।
यस्तै गरी ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवले कार्यक्रमको उदघाटन गर्दै आयल निगमको डिपो निमार्ण गर्दा नदीको किनारमा भएकोले यसको निमार्णमा बिशेष ध्यान दिन आग्रह गर्नु भएको छ ।
उहाले डिपोको निमार्णले स्थानियहरुमा रोजगारी सिर्जना मात्रै नभइ यस क्षेत्रको बिकासमा समेत मदत पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले रोहिणी र ओमसतियाका जनतालाई रोजगारीमा संलग्न गराउन आग्रह गर्दै आफनो पालिकाबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
नेपाल आयल निगम लिमिटेडका उपनिर्देशक तथा पेट्रोलियम भण्डारण गृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप कुमार यादवले यस डिपो निमार्णका बिषयमा आएका संसदीय समितीको बिवाद , अख्तियारको बिवादहरु सम्पुर्ण समाधान भएर निगमले खरिद गरेको झापा, सर्लाही, चितवन र भैरहवाको जग्गामा परियोजना अगाडी बढाउनका लागी बजेट स्वीकृत भएर पारित भएको बताउनु भएको छ । उहाका अनुसार यो डिपो ओमसतिया गाउँपालिका–५ र रोहिणी गाउँपालिका–३ भित्र बन्नेछ।
यादवका अनुसार निगमको ओमसतिया गाँउपालिकामा ७० प्रतिशत जग्गा छ भने रोहिणीमा ३० प्रतिशत छ। दुई पालिकामा गरेर १३.७ बिघा जमिन छ। भण्डारण गृह निर्माण गर्न २० बिघा चाहिन्छ। निगमले २०७३ सालमा १४।७ बिघा किनेको थियो। त्योमध्ये एक बिघा खोलामा परेकाले जग्गाधनीबाट राखिएको धरौटीबापत साढे ९ करोड रूपैयाँबाट उक्त एक बिघा कटाएर अहिले १३.७ बिघा मात्रै आफ्नो नाममा ल्याएको इन्जिनियर यादवले जानकारी दिनु भएको छ भने बाँकी सात बिघा जग्गा खरिद गर्ने समेत जानकारी दिनु भएको छ । उहका अनुसार भण्डारण गृह निर्माण गर्न टेन्डर समेत आह्वान भइसकेको छ।
डिपो निर्माणको काम दुई चरणमा गरिने छ । पहिलो चरणमा खोलाको किनारमा जग्गा भएकाले पानी आउन नदिन जग्गा सम्याउने र रिटेनिङ वाल पर्खाल लगाउने काम हुन्छ भने जग्गा सम्याएर दुई मिटर उचाइको पर्खाल लगाउने र त्यो आजैबाट सुरु भएको बताउनु भयो ।
यादवले डिपो दोस्रो चरणमा मंसिरमा शिलन्यास गरी पूर्वाधार निर्माण सुरू गरिने र यो परियोजना २०८३ सालभित्र सक्ने लक्ष्य रहेको बताउनु भएको छ ।
डिपोमा ६६ सय किलोलिटर डिजल, ३२ सय किलोलिटर पेट्रोल र २ सय १० किलोलिटर मट्टीतेल भण्डार हुनेछ। यसको लागत अनुमान तीन अर्ब रूपैयाँ छ। यो क्षमताको डिपोले लुम्बिनी प्रदेशको बीस दिनको माग धान्न सक्ने यादवले जानकारी दिनु भएको छ । पुरानो डिपोले सात दिनको मात्रै माग धान्दै आएको छ।
निगमले मोतिहारी–सर्लाही एलपिजी ग्यास पाइपलाइन समेत निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागेको छ। कुल १३० किलोमिटर लामो यो पाइपलाइनको लागत खर्च १५ अर्ब रूपैयाँ छ। निगमले भारतको गोरखपुरबाट भैरहवासम्म प्राकृतिक ग्यासको पाइपलाइन निर्माण गर्ने योजना समेत बनाएको उहाले जानकारी दिनु भएको छ ।
यो पाइपलाइन निर्माण भएपछि ग्यासमा आधारित रासायनिक मलको कारखाना निर्माण गरिनेछ। त्यसका लागि निगम र भारतीय आयल कर्पोरेसनबीच छलफल भइरहेको इन्जिनियर यादवले जानकारी दिनु भएको छ ।
कार्यक्रममा नेपाल आयल निगमका प्रबन्धक रामहरि निरौलाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाल पेट्रोलियम डिर्लस राष्ट्रिय एसोसियसनका लुम्बिनी संयोजक प्रेम न्यौपाने,
पश्चिमान्चल टयांकर ब्यवसायी संघका अध्यक्ष राकेश कसौधन, नेपाल आयल निगम लिमिटेड स्वतन्त्र कर्मचारी युनियनका केन्द्रिय सदस्य राजलाल मण्डल, नेपाल आयल निगम आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी संघका अध्यक्ष मधुमास पुन, ओमसतिया गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन पोखरेल, काठमांडौ युनिर्भसीटीका प्रोफेसर बिबेक बराल, रोहिणी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष करम खान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०४-१८ , समय : ०७:२२:४८ , ७ महिना अगाडि