रुपन्देही प्रहरीद्धारा रोहिणी गाउँपालिकामा नागरिक सुनुवाई

रुपन्देही खबर , २३७  पटक हेरिएको

भैरहवा, चैत २६

रुपन्देही प्रहरीले रोहिणी गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम–२०८० गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा ईलाका प्रहरी कार्यालय धकधईको सहकार्यमा रोहिणी–३, धकधईस्थित सरस्वती थर्कबहादुर रायमाझी फाउण्डेशन धर्मशालामा कार्यक्रम भएको हो । नागरिकको गुनासो र प्रहरी कार्यप्रतिको जवाफदेहीताको लागि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी मनोहर प्रसाद भट्टले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डीएसपी मनोहर प्रसाद भट्टले सवारीचालक अनुमतिपत्र लाइसेन्स प्राप्त नभएका व्यक्तिले सवारीसाधन चलाउन नहुने र लाइसेन्स नभएका व्यक्तिलाई अरुले पनि सवारीसाधन चलाउन दिन नहुने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी रंजित सिंह राठौरले आम नागरिक प्रहरीसँग डराउन नहुने बताउनु भएको छ । एसपी राठौरले नागरिकको सुरक्षाको लागि प्रहरी दिनरात नभनी खटिएको बताउनु भएको छ । उहाले विभिन्न ठाउँमा नागरिक सुनुवाइ कार्यक्रम गर्ने सोच अनुसार रोहिणीमा कार्यक्रम गरिएको जानकारी दिनु भएको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खुल्ला सीमाका कारण केही समस्या रहेको बताउनु भएको छ । उहाले गाउँपालिकाको विकासका लागि जनताले आफूहरुलाई निर्वाचित गरेको बताउनु भएको थियो । रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राम्रो कार्यक्रम गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो ।

रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले सीमा क्षेत्रमै मदिरा पसल सञ्चालन हुँदा त्यसले विभिन्न घटनाहरु निम्तिएको बताउनु भएको थियो । यस्तै गरी राप्रपाका सहायक महामन्त्री ताहिर अलीले भारतीय पर्यटक नेपाल प्रवेश गरेपछि केही समूहबाट दुःख दिने प्रवृत्ति रहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य राजकुमार यादवले नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध भएकाले नेपाली नागरिक भारतमा आफन्तकहाँ जाँदा त्यहाँबाट पाउने कोसेली ल्याउन दिनुपर्ने आग्रह गर्नु भएको थियो । जनमत पार्टी रोहिणी गाउँपालिकाका अध्यक्ष विष्णु चौधरीले सरकारले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा किसान मारमा परेको बताउनु भएको थियो ।

यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता चन्द्र कुमार सिंहले मलको अभाव देशमै रहेकाले किसानले सीमापारी भारतबाट १–२ बोरा मल ल्याउन बाध्य भएको बताउनुु भएको छ । यो कार्य कानूनी वा गैरकानूनी के हो भन्दै उहाले प्रश्न गर्नु भएको थियो । यस्तै श्री पशुपति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकमा पनि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता छेदी प्रसाद गुप्ताले भारतबाट अवैध रुपमा नेपाल भित्रिने कुखुराका कारण नेपाली किसान मर्कामा परेको बताउनु भएको छ । नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य प्रदीप कुमार रोहिणी बोर्डरसँग जोडिएको पालिका भएको र लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई दुव्र्यसनीबाट बाहिर ल्याउनुपर्ने बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सदस्य खुर्सीद आलमले ईलाका प्रहरी कार्यालय धकधईको प्रमुखको रुपमा कृष्ण प्रसाद घिमिरे आएपछि जनताले शान्ति सुरक्षाको अझ राम्रो अनुभुति गरेको बताउनु भएको छ । उहाले विरोध गर्न पाउने अधिकार भए पनि सामाजिक सञ्जालमा अपशब्द, गालीगलौज गर्न नपाइने बताउनु भएको थियो । नेपाली कांग्रेस रोहिणी गाउँपालिकाका सभापति पारसनाथ योगीले सवारीचालक अनुमतिपत्र लाइसेन्स प्रक्रिया वितरण ढिलाइ भएको भन्दै यसले छिटोछरितो बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव बैजनाथ सहानीले भारतीय नम्बर प्लेटको सवारीसाधन हेर्नेबित्तिकै फरक दृष्टिकोण राखेर पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ ।समाजसेवी श्रवण पाण्डेयले ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहने गरी स्तरोन्नति गर्नुपर्ने बताउनु भएको छ । रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले लागूऔषधको कुलतमा फसेका युवालाई बाहिर ल्याउनुपर्ने र समाधान गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरुले ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: २०२४-०४-०८ , समय : १०:२६:२६ , ७ महिना अगाडि