त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

रुपन्देही खबर , ११६७  पटक हेरिएको

भैरहवा,चैत १६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

त्रिविले आज शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’

यसअघि त्रिविमा अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउने पर्ने माग हुँदै आएको थियो ।अंग्रेजी भाषामा प्रश्नपत्रले अधिकास विद्यार्थीहरु प्रश्न नबुझेपछि असफल हुदै आएका थिए ।

यस विषयमा त्रिबीसंग नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज कानुन संकायमा अध्ययनरत राकेशकुमार मिश्र, सुर्यलाल यादव, धु्रबराज शर्मा, ताराप्रसाद खत्री लगायतको समुहले केही महिना अघि सूचना समेत माग गरेको थियो । दुबै भाषामा प्रश्नपत्र आएपछि परिक्षा दिने विद्यार्थीलाई सहज हुनेभएको छ ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : २१:४६:३६ , ८ महिना अगाडि