कञ्चन महिला उद्यमी कृषि सहकारीद्वारा सहकारी शिक्षा तालिम संचालन

रुपन्देही खबर , २०२  पटक हेरिएको

कञ्चन, चैत १६

कञ्चन महिला उद्यमी कृषि सहकारी संस्था, कञ्चन ५ रुपन्देहीले आफ्नो सहकारी संस्थाका संचालक समिति, लेखा समिति, बिभिन्न उपसमिति र शेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी २ दिने तालिम संचालन गरेको छ।

तालिमको शुभाम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले ग्रामिण क्षेत्रका भन्दा शहरी क्षेत्रका सहकारीहरु निकै संकटग्रस्त भइरहेको बताउदै सहकारीलाई जिवन्त राख्न सके सहकारीका शेयर सदस्यहरु आफै मालिक बन्न सक्ने बताउनु भयो। सहकारीबाट लिएको कर्जालाई उद्यमशिलतामा लगानी गर्न सकेमात्र हरेक सहकारीका शेयर सदस्यहरुको आर्थिक रुपमा समेत सवल हुदै जाने बताउदै अध्यक्ष ढकालले वित्तिय क्षेत्रहरुले लगानी गर्न धितो राख्नु पर्ने तर कञ्चनमा धितो राख्नका लागि जग्गाधनी पुर्जा नभएको र पालिकाले कञ्चनवासीलाई जग्गाधनी पुर्जा दिने कार्यमा आफु निरन्तर लागिरहेको बताउनु भयो।

यसैगरी धरोहर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लेखनाथ पौडेलले सहकारीको मापदण्ड भन्दा बाहिर कुनै पनि शेयर सदस्य बाहिर जान नसक्ने बताउनु भयो। कञ्चन महिला उद्यमी कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उद्यमशिलता तर्फ डोर्याउन बचत र सहकारीबाट गरिएको लगानीको सही ढंगले अनुगमन र पारदर्शितामा ध्यान दिनु पर्नेमा पौडेलले जोड दिनु भयो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले अपराधका नयाँ नयाँ श्रृंखलाहरु बिकास हुदै गइरहेकोले वित्तिय संस्थाहरुले आफ्नो सदस्यहरुले बचत गरेको बचत तथा सम्पत्तीको सुरक्षामा जोखिम बढ्दै गइरहेका बताउनु भयो। सहकारीमा आउने हरेक आगन्तुकहरुको अभिलेखिकरण गर्ने, सिसि टिभिहरुको जडानलाई बढी प्राथमिकता दिन आग्रह गर्दै प्रहरी निरीक्षक शाहीले आफ््नो हरेक बस्तुको सुरक्षाका लागि छिमेकमा हुने हरेक शंकास्पद कृयाकलापहरुको निगरानी र जति सक्दो सुरक्षा निकायहरुमा सुचना दिन आग्रह गर्नु भयो।

यसैगरी दिदि हिनी बचत तथा ऋण सहकारी संस्था, कञ्चन ४ का अध्यक्ष सुमित्रा बुढाथोकीले महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन सहकारी अनिवार्य रहेको र सहकारीको माध्यमबाट महिलाहरुको संस्थागत नेतृत्वको समेत बिकास हुने बताउनु भयो। वित्तिय क्षेत्रमा महिलाहरुको पहुँच बढाउन पनि सहकारीमा महिलाहरुको आवद्धता अनिवार्य रहने समेत अध्यक्ष बुढाथोकीले बताउनु भयो।

संस्थाका अध्यक्ष हिमा बेलवास र संस्थाका उपाध्यक्ष उमा ढकालले सहकारी शिक्षा अन्तर्गत, बचत, कर्जाको उपयोग, सहकारी तथा सदस्यहरुमा देखिएको समस्या र त्यसको समाधान, संचालक समिति, लेखा सुपरिबेक्षण समिति, बिभिन्न उप समितिको काम कर्तब्य तथा सहकारीमा शेयर सदस्यहरुको भुमिका लगायत बिषयहरुमा प्रशिक्षण दिनु हुनेछ।

कार्यक्रममा संस्थाका अध्यक्ष हिमा बेलवासेले कार्यक्रममा स्वागत गर्दै शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सम्बन्धी तालिमको आवस्यकताबारे प्रकाश पार्नु भएको थियो। भोलीसम्म संचालन हुने तालिम बुद्धदीप बोर्डिङ्ग ईङ्गलिस स्कुलको सभाहलमा संचालन भइरहेको छ ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : २१:३८:४३ , ८ महिना अगाडि