सिद्धार्थनगरमा मेलमिलापसम्बन्धि पुनर्ताजगी तालिम आजदेखि सुरु

उर्मिला यादव यात्री , २४१  पटक हेरिएको

भैरहवा, चैत १६

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा आजदेखि भैरहवामा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम सुरु भएको छ। सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा अधिकारीको अध्यक्षता तथा नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा मेलमिलापकर्ताहरुलाई न्यायिक निरुपणका लागि सहज बनाउन पुनर्ताजगी तालिम भैरहवामा सुरु भएको हो ।

उद्घाटन सत्रमा बोल्दै न्यायिक समिति संयोजक तथा उपप्रमुख उमा अधिकारीले न्यायिक समिति अन्तर्गत रहेर मेलमिलापकर्ताहरुले छिटो छरितो न्याय सम्पादन गर्दै आएको र यसलाई अझ थप सहजता प्रदान गर्ने उदेश्यले यो तालिम आयोजना गरेको बताउनुभएको छ । उहाँले न्यायिक समितिले शतप्रतिशत सफलता प्राप्त गर्नुमा मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहेको समेत जोड दिनु भएको थियो । उहाँले न्यायिक समितिलाई थप व्यवस्थित बनाउने बताउदैँ मेलमिलापकर्तालाई थप सक्रियताका साथ काम गर्न आग्रह समेत गर्नुभएको छ ।

तालिममा मेलमिलापका सात चरण र यसको प्रभावकारिता , बिवादमा सरोकारवालाहरुको पहिचान र पक्षको मनोसामाजिक बिश्लेषण को विषयमा अधिवक्ता खुमाकान्त पौडेलले सहजीकरण गर्नुभएको थियो ।

यस्तै गरि जिल्ला अदालत रुपन्देहीका न्यायधिवक्ता ईश्वर पराजुलीले मेलमिलाप र अन्यमुलुकका अभ्यासका विषयमा सहजीकरण गर्दै विभिन्न देशहरुमा रहेका मेलमिलाप प्रक्रिया ,कानुनका विषयमा सहजीकरन गर्नु भएको थियो । उहाले न्यायमा पहुँचको भरपर्दो माध्यम नै मेल मिलाप भएको जोड दिनु भएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जनक थापा,नगरका उपसचिव चेतनशिल लम्साल ,न्यायीक समिति सदस्य थानेश्वर पाण्डे ,राजकुमार अहिर,मेलमिलापकर्ता लीलामणि पाण्डे ,शारदा गौतम ,पबित्रा कोइराला ,लक्ष्मी पौडेल लगायत सिद्धार्थनगर नगरपालिकाभित्रका मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : १७:२५:०४ , ८ महिना अगाडि