साहासी कदम नेपाल रुपन्देहीद्धारा तिलोत्तमा ३ मा अन्तरक्रिया

रुपन्देही खबर , १२६५  पटक हेरिएको

भैरहवा, फागुन २४

महिलाहरू अझै पनि सामाजिक कुरीति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । उनीहरुले महिला अधिकारका निम्ति सबै एकजुट हुन आग्रह गरेका छन । ११४औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा साहासी कदम नेपाल रुपन्देहीले तिलोत्तमा ३ मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरू समाजको परम्परागत सोचकै कारण माथि उठ्न नसकेको बताएका हुन। उनीहरुले पछिल्लो समयमा राज्यले अबलम्बन गरेको नीतिले महिलाको माग र आवश्यकता अनुरूप अधिकार प्रत्यायोजन गरे पनि उक्त अधिकार प्राप्तिका लागि महिलाहरू आफै मुलधारमा आउन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै साहासी कदम नेपाल रुपन्देहीका संस्थापक अध्यक्ष आनिक राना मगरले महिला भनेर कुरा गरिरहदा यस भित्र यौनिक तथा अल्पसंख्यक समुदायका महिलाहरु पनि पर्ने हुदा सबैलाई एकसाथ समेटेर लैजान आग्रह गर्नु भएको थियो । उहाले सामान्यतया समाजमा महिला र पुरुष दुई लिङ्ग मात्र हुन्छन् भन्ने पुरातन सोचाई रहिआएको बताउदै फरक लैङ्गिक पहिचान र यौन आकर्षणको कारणले स्वीकारी आएका लिङ्ग भन्दा फरक प्रकारका व्यक्तिहरू पनि हुने गरेको जसलाई परम्परागत र संकुचित मान्यता भन्दा फरक यौनिक तथा लैङ्गिक अवस्थालाई तेस्रो लिङ्गी( एल.जि.वि.टि.आई. क्यू.) भन्ने गरिएको बताउनु भएको छ ।

उहाले महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाए पनि अझै पनि महिलाहरु समाजमा अनेकन दुखकष्टहरु सहेर बस्नु परेको बताउनु भएको छ । महिला र पुरुष बिच समानताका कुरा गरिए पनि अझै पनि ब्यवहारमा समान हुन नसकेको बताउनु भएको छ । उहाले महिला अधिकारका लागी महिलाहरु खुलेर बाहिर आउनुपर्नेमा जोड दिनु भएको छ ।

साहसी कदम नेपाल रुपन्देहीको आयोजना तथा फ्रिडम स्टुडियोको आर्थिक सहयोगमा आयोजित अन्तक्रिया कार्यक्रममा सहभागी महिलाहरुले ब्यानरमा चित्रमार्फत आत्मकथालाई प्रस्तुत गरेका थिए भने आफनो अधिकारका बारेमा समेत चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले यौनिक तथा अल्पसंख्यक समुदायका महिला तथा अन्य ब्यक्तित्वहरुले समुदाय भित्र भेदभाव किन ,महिलाको आवाज नै सुपर पावर, हरेक दिन नारी दिवस, लगायतका बिषयहरुलाई आ आफनो कला मार्फत प्रस्तुत गर्दै ११४ औं अन्तराष्ट्रिय नारी दिवस मनाएका छन भने यो दिवसको अवसरमा दिप प्रज्वलन समेत गरिएको थियो ।

कार्यक्रममा साहसी कदम नेपाल रुपन्देहीका एडभोकेसी अफिसर रोजमगर, साहसी कदम नेपालका उपाध्यक्ष सरोसी न्यौपाने, संस्थाका प्राबिधिक सल्लाहकार रेशम न्यौपाने, साहसी कदम नेपालका आसिका थापा, महिला सशक्तिकरण समाज नेपालका अध्यक्ष उमा श्रेष्ठ, कल्पना श्रेष्ठ, शान्ता बि.क.,रेखा थापा, रम्भा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : २२:५३:४७ , ९ महिना अगाडि