रुपन्देही खबर , ९४६ पटक हेरिएको
काठमाडौं, फागुन २३
रूपन्देहीबाट काठमाडौं जादै गरेको बस आज बिहान त्रिशूली नदीमा खस्दा ७ जना मृत्यु भएको छ । रूपन्देहीबाट काठमाडौं जाँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई जीवितै उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीका अनुसार दुर्घटनामा थप दुई जना घाइतेको मृत्यु भएको हो। गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिनु भएको छ । बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत नभएको उहाले बताउनु भएको छ ।
चालक लुम्बिनी सास्कृतिक नगरपालिका-९ का हरि राम हरिजनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उहाले बताउनु भएको छ ।
घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको सय जनाभन्दा बढी उद्धारकर्मी खटिएका छन । बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको थियो ।
प्रकाशित मिति: २०२४-०३-०६ , समय : १५:३३:४७ , ९ महिना अगाडि