रुपन्देहीको प्रहरी चौकी बगौली जिर्ण अवस्थामा, चुहिने भवनमा बस्दै प्रहरी

उर्मिला यादव यात्री , ३७१  पटक हेरिएको

भैरहवा, फागुन १२

रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर ७ बगौलीमा रहेको प्रहरी चौकी जीर्ण अवस्थामा रहेको छ । त्रिपाल राखेर गुजारा चलाइरहेका प्रहरीहरु पानी पर्दा चुहिने समस्या रहेको गुनासो गरेका छन । बि.स. २०३६ सालमा स्थापना भएको उक्त प्रहरी चौकीमा हाल सात जना प्रहरी कार्यरत रहेका छन । जसमा असइ १ ,प्रहरी हवल्दार १, सहायक प्रहरी हवल्दार २ र प्रहरी जवान तीन जना रहेका छन ।

जीर्ण तथा चुहिने भवनमा बस्नु पर्दा आफूहरूलाई समस्या भएको प्रहरीहरूको भनाइ छ । शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफैं असुरक्षित हुँदा शान्ति सुरक्षा कायम गर्न असहज हुने गरेको छ । पानी परेको बेलामा बस्न धेरै समस्या रहेको र बेडहरु समेत सार्नुपर्ने अवस्था रहेको त्यहाका प्रहरीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले प्रहरी चौकी बगौली जिर्ण अवस्थामा पुगेको बताउनु भएको छ । उहाले धेरै पुरानो भवन भएकोले पलस्तर भएको ठाउबाट सिमेन्ट खस्ने ,पानी पर्दा चुहिने जस्तो समस्या रहेको बताउनु भएको छ । उहाले जिल्लामा जिर्ण अवस्थामा रहेका प्रहरी चौकीहरु मर्मतका लागी एकै पटक बजेट नआए पनि जिल्लामा जिर्ण अवस्थामा रहेका प्रहरी चौकीहरुको अवस्था बुझेर निमार्णका लागी पहल गरिने बताउनु भएको छ । उहाले जिर्ण अवस्थामा रहेका प्रहरी चौकीहरुको कतिपय स्थानिय पालिकाले मर्मत सम्भार गर्नुका साथै भवन निमार्णमा सहयोग गर्दै आएको जानकारी दिनु भएको छ ।

उहाले बगौली प्रहरी चौकीको जग्गा एक कठठा र बाकी ब्यक्तिको नाममा रहेकोले जग्गा सम्बन्धी बिबाद भएकोले यसलाई स्थानिय सरोकारवाला निकाय संग छलफल गरी समाधान गर्नुका साथै भवन निमार्णमा पालिका संग समन्वय गर्ने बताउनु भएको छ ।

यता मर्चवारी गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष गणेश चौधरी प्रहरी चौकी बगौलीको अवस्था दयनीय रहेको बताउनु भएको छ । उहाले देशको सुरक्षा गर्ने र जनताको सेवामा दिनरात खटिएका सुरक्षाकर्मी नै यो अवस्थामा पुग्दा चाहेर पनि सहयोग गर्न नसकेको बताउनु भएको छ । प्रहरी चौकी बगौलीको केही जग्गा ब्यक्तिको नाममा रहेकोले वडाबाट भवन निमार्णमा सहयोग गर्न नसकिएको बताउनु भएको छ । उहाले प्रहरी चौकीको अवस्था दयनीय भएकोले पटक पटक आफुले त्रिपाल सहयोग गर्दै आएको उल्लेख गर्नु भयो । प्रहरी चौकीको जग्गा नभएकोले चौकी निमार्णमा समस्या रहेको छ भने वडाध्यक्ष चौधरीले जग्गाको ब्यवस्थापन भए आफनो कार्यकालमा नै भवन निमार्ण गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । यता त्यहाका स्थानिय सर्वेन्दर यादवले प्रहरी चौकी भवन जिर्ण रहेकोले सुरक्षाकर्मीलाई बस्न समस्या रहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-२४ , समय : १०:३२:२६ , ९ महिना अगाडि