पाल्हिनन्दनमा जोखिमको पूर्व तयारी स्वरुप प्रयोगात्मक अभ्यास

महेश यादव , ५१९  पटक हेरिएको

नवलपरासी, जेठ २९

मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी विपद् जोखिमको पूर्व तयारी स्वरुप नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ पाल्हि मन्दिर नजिककाे पाेखरीमा प्रयोगात्मक अभ्यास सम्पन्न गरिएको छ ।

बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षा याममा ठुलो जनधनको क्षति हुने गरेकोले मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी विपद् जोखिमको पूर्व तयारी स्वरुप प्रयाेगात्मक अभ्यासमा तिनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने विषयमा पूर्व तयारी प्रयोगात्मक अभ्यास गरिएको हाे ।

दैनिक प्रयोग हुने घरायसी सामाग्री मार्फत पनि बाढीकाे डुबानबाट कसरी बच्ने भन्ने बारेमा नेपाली सेनाको अभ्यास टोलीले जानकारी गराउदै स्थानियहरुलाई सचेत गराउन विपद् प्रतिकार्य अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो ।

नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका सहायक रथी नवराज गुरुङ्ग सहित सुरक्षा निकायका प्रमुख सुरक्षाकर्मी , स्थानीय तहका प्रमुख लगायतको सहभागिता रहेको कार्यक्रममा ठुलो बाढी र डुबानकाे विपद् आईपरेकाे जस्तो अनुमान गरि गरिएको प्रयाेगात्मक अभ्यास बाट सुरक्षा निकायलाई राहत प्रदान र उद्धारका लागि अगामि दिनमा कसरी काम गर्ने भनी थप निखार सहित सिकाई हुने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताउनुभएको थियो ।

प्रकाशित मिति: २०२२-०६-१२ , समय : २१:०४:०४ , २ वर्ष अगाडि