स्थापना दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका द्वारा प्रभावफेरी

रुपन्देही खबर , २३२  पटक हेरिएको

भैरहवा ,माघ २२

सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५६ वर्षपछि नगरपालिकाको कार्यालयले पहिलो पटक विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरवासीहरुको सहभागितामा नगरमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ भने नगरवासीहरुलाई साँझ दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

नगरपालिका कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्थापना भएदेखि पहिलो पटक दिवस मनाउन पाएको खुशी व्यक्त गर्दै नगरवासीहरुलाई शुभकामना दिनु भएको छ । उहाले माघ २२ गते नगरवासीहरुका लागि ऐतिहासिक दिन भएकोले साँझ घरघरमा दीप प्रज्वलन लगायत कार्यक्रम गरेर स्थापना दिवस मनाउन आग्रह गर्नु भएको छ ।

उहाले नगरलाई पर्यटकीय नगरको रुपमा विकास गरिने बताउनु भएको छ । नगर विकासका लागि आफुहरु आएकोले क्रमशः प्राथमिकताका आधारमा विकासका कार्य गर्दै जाने उहाको भनाई छ । 

सो अवसरमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नगर क्षेत्रको विकासको लागि नगरपालिकाले आगामी दिनमा थप सशक्त रुपले योजना बनाएर अघि बढ्ने बताउनु भएको छ । स्थानीय सरकार नजिकको सरकार भएतापनि हातेमालो गरेर अघि बढे मात्र विकास लगायतका कार्य सम्भव हुने उहाको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिद्धार्थनगर मुलुकको सुन्दर नगरपालिका बन्न सक्ने क्षमता भएको कारण ठूलो योजना भन्दा पनि नगर क्षेत्र भित्र रहेका योजनाहरुलाई सफल बनाउन लाग्नु पर्ने धारणा राख्नु भएको छ ।

यस्तै गरि सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले पुरानो पालिकाको मध्यको सिद्धार्थनगर नगरपालिकाले विकासको गतिमा धेरै फड्को मारेको भन्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भएको छ ।


त्यस्तै जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगर क्षेत्रको विकासको लागि विधी र शासनको पालना गर्नुपर्ने विषयमा जोड दिनु भएको छ। उहाले नगरका जनप्रतिनिधीहरुले राम्रो कार्य गरिरहेको बताउँदै अझै कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले नगरको विकासको लागि निजी संस्थाले गर्नुपर्ने काममा सधै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ लगायत वक्ताहरुले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै नगरलाई पर्यटकीय सहर बनाउने गरी अगाडी बढ्न सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-०५ , समय : १९:३७:३३ , १० महिना अगाडि