रुपन्देही खबर , २३४ पटक हेरिएको
भैरहवा, माघ १४
रुपन्देहीको मर्चवारी गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँसभामा पालिकाको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत भएको गाउँपालिकाले जनाएको छ । ‘स्वास्थ्य, शिक्षा, कृषि, जलस्रोत र पुर्वाधार, सुशासन र गरिबी निवारण समृद्ध आधार’ भन्ने नाराका साथ सञ्चालन भएको गाउँसभामा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिले हालसम्म भए र गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले जानकारी गराउनु भएको छ । उहाले गाउँसभामा १५ वटा नयाँ एन २०८० कार्यविधि बनाई प्रस्तुत भएको समेत बताउनु भएको छ भने स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पुर्वाधारका बिषयमा छलफल भएको थियो ।
सभामा वडा तथा गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सन्तोषजनक भए र नभएको बारेमा पनि समिक्षा भएको उहाले बताउनु भएको छ । सबै पालिकाभित्रका सरकारी कार्यालयमा प्रतिफल आउने गरी कर्मचारीलाई काम गर्न समेत आग्रह गरिएको गरिएको छ । गाउँपालिकासँग समन्वय गरी गैरसरकारी संस्थाको काम नजिकैबाट नियाल्न समेत सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरिएको छ । गाउँपालिकामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका कर्मचारी, व्यापारी, शिक्षक, प्रहरी तथा विद्यार्थीहरुलाई मुल्यांकन गरी उच्च कार्य प्रवाह गरेवापत प्रशंसापत्र दिएर सम्मान समेत गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनु भएको छ ।
मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी भरत बहादुर वि.क.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशम प्रसाद आचार्य, वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्य र विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन हरिश्चन्द्र बरईले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-२८ , समय : १९:४२:५२ , १० महिना अगाडि