घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तरक्रिया भैरहवामा सम्पन्न

रुपन्देही खबर , २६८  पटक हेरिएको

भैरहवा,माघ १३

घरेलु हिंसा र आत्महत्याका घटनाले समाजमा नराम्रो असर पारेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा रहेको चौकी मेउडिहवामा आयोजना गरेको घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले घरेलु हिंसा र आत्महत्याले परिवारसँगै समाजमा नकारात्मक असर पारेको बताएका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले प्रत्येक वर्ष आत्महत्याका घटनामा वृद्धि भइरहेको बताउनु भएको छ । उहाले चालु आर्थिक वर्षमा रुपन्देहीमा १९ जनाले आत्महत्या गरेको बताउनु भयो ।

एसपी वि.क.ले अभिभावकले आफ्ना सन्तानको समस्या बुझ्नुपर्ने र उनीहरुलाई बढी दबाब दिन नहुने बताउनु भएको छ । मानसिक स्वास्थ्यको बारेमा छलफल गर्न जरुरी रहेको उहाको भनाइ छ । उहाले विशेष गरी तराईमा ‘दहेज प्रथा’ का कारण घरेलु हिंसा र आत्महत्याका घटना हुने गरेको बताउनु भएको छ । ‘दाइजोलाई लिएर टर्चर गर्नु हिंसा हो । हिंसा सहेर नबस्नुस् । प्रहरी यस विषयमा संवेदनशील छ । घरेल हिंसा सामाजिक अपराध अन्तर्गत पर्छ, ’उहाले भन्नु भयो । उहाले विगतको तुलनामा घरेलु हिंसाका घटनामा भने कमी आएको जानकारी दिनु भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले समाजमा कुनै पनि आपराधिक क्रियाकलाप, सामाजिक विकृति, विसंगति न्यूनीकरण गर्दै समाजलाई शान्त, व्यवस्थित र मर्यादित गराउन प्रहरीसँगै समुदायका सबै व्यक्तित्वहरुको उत्तिकै भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ । ‘अपराध नियन्त्रण, रोकथाम र अनुसन्धान गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको हो उहाले भन्नू भयो । त्यो जिम्मेवारी समुदायको साथ र सहयोग बिना हुँदैन । समुदायसँग समन्वयको कमी रहयो भने पक्कै पनि काम कारवाहीमा असर पर्छ । ’ समस्यामा भएका समस्या, विकृति, आपराधिक क्रियाकलापका पीडित समाजभित्रै रहेको डीएसपी भट्टले बताउनु भयो ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले पछिल्लो समय समाजमा विकृति बढिरहँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राम्रो कार्यक्रम गरेको बताउनु भएको छ । उहाले घरेलु हिंसा र आत्महत्याका घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भएको छ । यस्तै गरि सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले घरेलु हिंसा न्यूनीकरणका लागि आफैबाट सुरु गर्नुपर्ने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी.ले हिंसा आफैमा नराम्रो शब्द भएको  र हिंसा सहेर नबस्न आग्रह गर्नु भएको थियो ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा सदस्य दिपेश प्रताप शाही (दीपु)ले यस्ता कार्यक्रमहरु प्रत्येक विद्यालय तथा टोलटोलमा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको थियो।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले आफूलाई शासक भन्दा सेवकको रुपमा बुझेर अघि बढे समाज रुपान्तरणमा टेवा पुग्ने बताउनु भएको छ । उहाले जिल्ला प्रहरी कार्यालयले यस्ता कार्यक्रमहरु सम्पूर्ण प्रहरी युनिटहरुमा गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा श्री पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगर–१ का शिक्षक देवी न्यौपाने, शिक्षक बासुदेव घिमिरे लगायतले बोल्नु भएको थियो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी मेउडिहवा र सिद्धार्थनगर नगरपालिका वडा नम्बर २, वडा कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रहरी चौकी मेउडिहवाका प्रमुख सहायक प्रहरी निरीक्षक राज कुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । प्रहरी चौकीलाई व्यवस्थित गरी नागरिकलाई अझ प्रभावकारी रुपमा सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै क्षेत्रीलाई सम्मान गरिएको थियो ।

त्यस्तै प्रहरी चौकी मेउडिहवाको मर्मतसम्भारमा सहयोग गरेको भन्दै वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेल, २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का अध्यक्ष नारायण प्रसाद उपाध्याय, ११ का वडाअध्यक्ष दिलिप कुमार यादव, समाजसेवी जमुना गुरुङ, व्यवसायी मिलन क्षेत्रीलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२७ , समय : ०६:४८:३० , १० महिना अगाडि