वृद्धाश्रममा रहेका जेष्ठ नगरीकहरुलाई भोजन कार्यक्रम सम्पन्न

रुपन्देही खबर , २६४  पटक हेरिएको

भैरहवा, माघ १०

हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बुद्धचोक सिद्धार्थनगर–७, ८ र ९ रुपन्देहीले वृद्धाश्रममा रहेका जेष्ठ नगरीकहरुलाई भोजन गराएको छ । केन्द्रले बुधबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई बृद्ध सेवा आश्रममा जेष्ठ नगरीकहरुलाई भोजन गराएको हो ।

वृद्धाश्रम रहेका आमाबुवाहरुको सेवा र उहाँहरुसँग भलाकुसारी गर्न भोजन कार्यक्रम गरिएको हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापाले बताउनु भएको छ । उहाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले वृद्धाश्रममा सहयोग गर्ने राम्रो चलनको विकास भएको बताउनु भएको छ । उहाले जन्मदिन लगायत विशेष उत्सवहरुमा फजुल खर्च रोकेर वृद्धाश्रममा सहयोग गर्ने राम्रो परम्पराको विकास हुनु सराहनीय रहेको बताउनु भयो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले हिमाली सामुदायिक सेवा केन्द्रले वृद्धाश्रममा कार्यक्रम गर्दा खुसी लागेको बताउनु भएको छ ।

श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिमाली सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य तिलकराम ज्ञवालीले सेवा केन्द्रले यस्तै प्रेरणादायी काम गर्दै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

श्री सत्य साई बृद्ध सेवा आश्रम सञ्चालक समिति अध्यक्ष माया खरेलले हिमाली सामुदायिक सेवा केन्द्रले राम्रो काम गरेको बताउनु भएको छ ।

हिमाली सामुदायिक सेवा केन्द्रका सचिव विष्णु मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वृद्धाश्रमलाई २० वटा हर्लिक्स प्रदान गरिएको सेवा केन्द्रले जनाएको छ । वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष माया खरेलका अनुसार हाल वृद्धाश्रममा १७ जना जेष्ठनगरीकहरु छन् ।

प्रकाशित मिति: २०२४-०१-२४ , समय : १७:४७:०० , १० महिना अगाडि