रुपन्देही खबर , २३२ पटक हेरिएको
नवलपरासी,माघ ६
महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हकहितमा आवाज उठाउन भन्दै पश्चिम नवलपरासीका महिला पत्रकारहरु संगठित भएका छन् । जिल्लाका विभिन्न मिडियामा कार्यरत महिला सञ्चारकर्मीहरुको शुक्रबार परासीमा सम्पन्न भेलाले नवलपरासी महिला प्रेस क्लब गठन गरि महिला पत्रकारको पक्षमा काम गर्ने जनाएको हो ।
भेलाले नवलपरासी खबर मिडिया प्रालि सुनवलकी पत्रकार कल्पना खरेलको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना केसी (पाल्हीनन्दन), सचिवमा डोल्मा चौधरी (सरावल), कोषाध्यक्षमा सितमति हरिजन (सुस्ता) तथा सदस्यमा आरती राना (बर्दघाट), मञ्जु यादव (सुनवल) र शोभा यादव (रामग्राम) चयन हुनुभएको अध्यक्ष खरेलले जानकारी दिनु भएको छ ।
पश्चिम नवलपरासी जिल्लामा महिला पत्रकारको संख्या कमी रहेको र भएका महिला पत्रकारको पनि क्षमता अभिवृद्धि, पत्रकारितामा पहुँच बृद्धि एवं उनीहरुको हकहितको पक्षमा आवाज उठाईदिने निकायको कमी महशुस भएकोले सातै स्थानीय तहका महिला पत्रकारलाई संगठीत गरिएको अध्यक्ष खरेलले बताउनुभएको छ ।महिला प्रेस क्लवले महिला सञ्चारकर्मीको पक्षमा काम गर्दै महिलाका मुद्धालाई प्राथमिकताका साथ मिडिया मार्फत उठान गर्ने उहाँले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले पत्रकारिता क्षेत्रमा पहुँच विस्तार गर्न महिला पत्रकारको सक्रियता बढाउन आवश्यक रहेको बताउनुभएको छ। उहाँले पत्रकारिता पेशालाई निरन्तरता दिन चुनौती रहे महिला पत्रकारको पक्षमा बुलन्द आवाज उठाउन क्लवलाई आग्रह गर्नुभयो । परासी प्रेस क्लवका अध्यक्ष क्ष बेचु गौडले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण पेशा भएको र महिला पत्रकारलाई थप चुनौती रहेकोले चुनौतीका बीच पनि अवसरको रुपमा लिएर सक्रियता र क्षमता बढाउँदै अघि बढ्न जोड दिनुभयो ।
उक्त अवसरमा दैनिक द्वान्टीफोर खबरका सम्पादक एवं रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, लुम्बिनी दैनिकका पत्रकार गौरीशंकर जयसवाल लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको महिला प्रेस क्लवकी सचिव डोल्मा चौधरीले जानकारी दिनु भएको छ।
प्रकाशित मिति: २०२४-०१-२० , समय : ११:१५:१४ , १० महिना अगाडि