रुपन्देही खबर , ३१७ पटक हेरिएको
भैरहवा, माघ ६
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोसपा र जनता समाजवादी पार्टी, नेपाल जसपाले रुपन्देहीमा संयुक्त रुपमा ‘बलिदानी दिवस’ मनाएका छन । बलिदानी दिवसको अवसरमा लोसपा रुपन्देही र जसपा रुपन्देहीले शुक्रबार भैरहवास्थित मिलनचोकमा दीप प्रज्जवलन गरेको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताउनु भएको छ । उहाले रुपन्देहीमा दुई पार्टीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको बताउदै संघीयताको मर्म बुझ्ने पार्टीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष रामअवतार यादवले जनताले नेता चिन्नुपर्ने बेला आएको बताउनु भएको छ । उहाले मधेशको हकअधिकारका लागि हुने आन्दोलनमा आफू अग्रपंक्तिमा रहने बताउनु भएको छ । यादवलले भन्नु भयो ‘बाँचुञ्जेल अधिकारका लागि लड्छु । ’ संविधानमा रहेका त्रुटी सच्याउन संविधान संशोधन गर्नुपर्ने उहाको भनाइ छ ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा लोसपा लुम्बिनी प्रदेश संसदीय दलका उपनेता कन्हैया बनियाले संघीयताले नै मधेशको विकास हुने दावी गर्नु भएको छ । उहाले संघीयतालाई झन बलियो पार्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले शहीदको बलिदानीका कारण आज विभिन्न पार्टी सरकारमा जान पाएको उल्ल्ेख समेत गर्नु भएको थियो । दीप प्रज्जवलन कार्यक्रममा बोल्दै लोसपाका केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता प्रशान्त ले अधिकार र पहिचानका लागि शहीदले बलिदानी दिएको बताउनु भएको छ । उहाले शहीदको बलिदानीका कारण मुलुकमा संघीयता स्थापना भएको र विभिन्न उत्पीडित समुदायले अधिकार पाएको दावी समेत गर्नु भएको छ
कार्यक्रममा जसपा सिद्धार्थनगरका अध्यक्ष उज्जवल पोखरेलले पहिचानवादी शक्ति एकजुट भएर अघि बढे पनि यो शक्तिले उठाएको मागहरु पूरा हुन सक्ने बताउदै अझै पनि धेरै मागहरु सम्बोधन हुन बाँकी नै रहेको बताउनु भएको थियो ।
यस्तै गरी लोसपा लुम्बिनी प्रदेश सदस्य तथा लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष मोहम्मद अली, लोसपा सिद्धार्थनगरका अध्यक्ष बसिर अहमद खान लगायतले बोल्दै शहीदहरुको योगदानलाई बिर्सन नहुने बताउनु भएको थियो । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय विद्यार्थी रमेश महतोले सहादत प्राप्त गरेको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन । मधेश प्रदेश सरकारले पनि बलिदानी दिवस मनाउँदै आएको छ ।
प्रकाशित मिति: २०२४-०१-२० , समय : १०:१७:३१ , १० महिना अगाडि