निर्वाचन आयोगले गर्‍यो राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक

रुपन्देही खबर , १८३  पटक हेरिएको

काठमाडौं, माघ ३

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतपत्रको नमुना सार्वजनिक गरेको छ। बुधबार आयोगले आफ्नो वेबसाइटमा वास्तविक मतपत्रको नमुना मतपत्र सार्वजनिक गरेको हो। आयोगले प्रदेशअनुसार फरकफरक नमुना पत्र बेवसाइटमा राखेको छ। मेयर उपमेयर तथा अध्यक्ष-उपाध्यक्षले रातो रंगको मतपत्रमा मतदान गर्नेछन् भने प्रदेश सभा सदस्यहरूले हरियो रंगको मतपत्रमा मतदान गर्नेछन्।

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्। उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन्।

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन्।

प्रकाशित मिति: २०२४-०१-१७ , समय : १५:०४:१५ , ११ महिना अगाडि