रुपन्देही खबर , २०७ पटक हेरिएको
बुटवल, पुस २१
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २९ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनु भएको छ ।
रक्तदान कार्यक्रमको शुभारम्भ ८० औं पटक रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा चौहान क्षेत्रीले रक्तदान गर्नुका फाइदाबारे जानकारी गराउनु भएको थियो । त्यस्तै ६२ वर्षको उमेरमा कमल न्यौपानेले समेत ७० औं पटक रक्तदान गर्नु भएको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तारानाथ कंडेलले सहकारीले सदस्यहरुको हितलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाएको र सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको बताउनु भएको छ । त्यस्तै कार्यक्रम संयोजक पुष्पा न्यौपाने, संस्थाका सचिव निरज कंडेलगायतले रक्तदान जस्तो पवित्र कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाका गतिविधि र आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै हालसम्म संस्थाको कुल वासलात करिव ६८ करोड पुगेको जानकारी गराउनु भएको थियो ।
उहाले हालसम्म बचत संकलन ५२ करोड १३ लाख २९ हजार रहेको, पाँचसय जना सदस्यलाई करिव ६१ करोड क्रृण लगानी गरिएको, आर्थिक वर्ष ०७८÷७९ को नाफाबाट १३.५ प्रतिशत बोनस प्रदान गरिएको बताउनु भएको छ । संस्थाले अनलाईन प्रणालीमार्फत संस्थाको कारोबार सुरु गरिसकेको पनि उहाले जानकारी दिनु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-०६ , समय : २०:४०:२० , ११ महिना अगाडि